काठमाडौं- नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच उद्योग विकासका लागि इकोसिष्टमको विकास गरी उद्योगको उत्पादकत्व बढाउने सम्बन्धी सम्झौता भएको छ। राजधानीको माइतीघरस्थित महासंघ सचिवालयमा आइतबार आयोजित एक समारोहका बीच दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको इकोसिस्टम विकास गरी उत्पादकत्व बृद्धि गर्ने क्रममा इन्टरभेन्सनको रुपमा हाललाई कुनै निश्चित भौगोलिक क्षेत्रमा रहेका उद्योगहरु बीचको इकोसिस्टम विकास गर्न पहल गर्ने सम्झौता भएको हो।
प्रत्येक प्रदेशबाट उत्पादनमूलक, कृषि र सेवा तीन क्षेत्रका २–२ वटा कम्पनीको छनौट गरी ७ वटा प्रदेशका ४२ वटा कम्पनीको इकोसिस्टम विकास गर्न कार्य गरिने सो अवसरमा बताइएको छ। उत्पादनमूलक, कृषिजन्य र सेवा उद्योगमा संलग्न कम्पनीहरुको इकोसिस्टम विकास गरी सफल उद्यम बनाउने पाइलट परियोजना सञ्चालन गर्ने सम्झौताको उद्देश्य रहेको महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले बताए।
महासंघ र प्रतिष्ठान मिलेर देशमा औद्योगिक सम्बन्ध र उद्यमशीलता प्रवर्द्धन गर्न पहल गरी औद्योगिक वातावरण प्रवर्द्धन गर्न नीति अनुसन्धानमा कार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ। यस्तै औद्योगिक सम्बन्ध विकासका लागि व्यवसायिहरुको इकोसिस्टम विकास गर्ने क्षेत्रमा सहकार्य गर्ने प्रतिष्ठानका अध्यक्ष डा. नवराज खतिवडाले बताए।
सम्झौताअनुसार उत्पादनमूलक, कृषिजन्य र सेवा उद्योगमा संलग्न कम्पनीहरुको इकोसिस्टम विकास गरी उत्पादकत्व बढाउने क्रममा नेपाल सरकारका निकायहरु तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय निकाय संघ संस्था तथा मञ्चहरुमा प्रतिष्ठान र महासंघले एक अर्काको उपस्थितिलाई सफल बनाउन प्रयत्न गर्ने महासंघले जनाएको छ।
महासंघ र प्रतिष्ठानले उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको व्यवसाय प्रवद्र्धन र सम्वद्र्धनका लागि थप कार्य योजना निर्माण गरी योजनावद्ध रुपमा कार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ। उत्पादनमूलक, कृषि, डिजिटल सेवा र अन्य सेवा क्षेत्रका उद्यमीको व्यवसाय विकास र प्रवद्र्धन गर्ने क्रममा दुबै पक्षले आफूसँग भएको विज्ञता, श्रोत, साधन र जनशक्ति परिचालन गर्ने सम्झौता पत्रमाउल्लेख छ।
अनुसन्धान गर्ने तथा आवश्यक रणनीति बनाउने कार्यको नेतृत्व प्रतिष्ठानले गर्ने बताइएको छ भने आवश्यकता अनुसार केन्द्र, प्रदेश र स्थानीय तहका तीन वटै सरकार र विकास साझेदार तथा दातृ निकायहरु सँगको छलफल, लविङ र नयाँ परियोजना प्राप्त गर्न वा भैरहेका परियोजनालाई सहयोग जुटाउन दुबै पक्षले संयुक्त पहल गर्ने सम्झौतापत्रमा उल्लेख छ।
सम्झौता कार्यक्रममा प्रतिष्ठानका बहुविषयक अनुसन्धान विशेषज्ञ प्रा. डा. राजकुमार भट्टराई तथा कार्यकारी निर्देशक डा. शंकर श्रेष्ठ, महासंघका उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी, कोषध्यक्ष अच्युत पाण्डेलगायतको सहभागिता रहेको थियो।