काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले भक्तपुर, तनहुँ र सप्तरीमा भएका सवारी दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएको बताएको छ।
प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकस्थित सडकमा प्रदेश ३–०२–०१०प६८९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक वडा नम्बर ९ पलासे महतका २४ वर्षीय निश्चल महतको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते उनको सूर्यविनायक नगर अस्पताल हुँदै मध्यपुर अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै, तनहुँको भानु नगरपालिका–२ भकुन्थोकस्थित सडकमा बा०३–००१त२२६ नम्बरको ट्रयाक्टर शुक्रबार बिहान दुर्घटना हुँदा त्यसमा सवार सोही नगरपालिका–२ का ४१ वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लक्ष्मी अस्पताल डुम्रे हुँदै भरतपुर मेडिकल कलेज चितवनमा थप उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
दुर्घटनामा घाइते भएका अन्य २ जनाको मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कंकालिनी मन्दिर र कोसी ब्यारेजको बीचमा बा१९च ५५७६ नम्बरको कार अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा कारमा सवार सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भारदह अस्पताल हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।