काठमाडौं– आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो।
नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्। नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए। आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ।
केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ। २०७६ साल माघदेखि रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात प्रभावित बनेको थियो। २०७७ साल असारमा सामान आयात गर्न थालिएको थियो। तर, निर्यात हुन सकेको थिएन। निर्यात गएको पुसदेखि सुरु भएको थियो।
गएको बुधबार ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकमा तत्काल रसुवागढी–केरुङ र वैशाख तेस्रो हप्तादेखि तातोपानी–झाङ्मु नाकामा आवतजावत नियमित गर्ने सहमति भएको थियो। कोरोना महामारीका कारण तीन वर्ष ठप्प भएको तातोपानी नाकामा अर्को महिना १८ गतेदेखि दुईतर्फी व्यापार र आवागमन नियमित हुनेछ।