बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कार्यभार सम्हाल्नासाथ गभर्नरसँग अर्थमन्त्री महतको 'वान टु वान मिटिङ'

कार्यभार सम्हाल्नासाथ गभर्नरसँग अर्थमन्त्री महतको 'वान टु वान मिटिङ'

आफू अर्थमन्त्री हुने चर्चा सुरु भएसँगै महतले अहिलेको आर्थिक निराशालाई आशामा बदल्न राष्ट्र बैंकसँग समन्वय गर्ने बताएका थिए।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं- मन्त्रालय सम्हाल्नेबित्तिकै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीलाई भेटेका छन्। सिंहदरबारमा पद बहाली गरेर कर्मचारीलाई निर्देशन दिएसँगै अर्थमन्त्री महतले गभर्नर अधिकारीलाई भेटेका हुन्। 

अर्थमन्त्रीको कार्यकक्षमा मन्त्री र गभर्नरबीच वान टु वान मिटिङ भएको बताइएको छ। महत आजमात्रै अर्थमन्त्री नियुक्त भएका हुन्। मन्त्री सिंहदरबार पुग्नुअघि नै गभर्नर अधिकारी अर्थ मन्त्रालय पुगिसकेका थिए। 

आफू मन्त्री हुने चर्चा सुरु भएसँगै महतले अहिलेको आर्थिक निराशालाई आशामा बदल्न राष्ट्र बैंकसँग समन्वय गर्ने बताएका थिए। पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच सम्बन्ध बिग्रिँदा आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल हुन सकेको थिएन। यसका कारण चालू पुँजी कर्जा, ब्याजदरलगायत विषयले समस्या थप बल्झिएको थियो। 

त्यसो त गभर्नर अधिकारीलाई तत्कालीन शेरबहादुर देउवा सरकारले विभिन्न आरोप लगाउँदै निलम्बन गरेको थियो। निलम्बनपछि अधिकारी सर्वोच्च अदालत पुगे र त्यहाँबाट पुनर्स्थापित भए। जनार्दनको बहिर्गमनपछि अर्थमन्त्री बनेका विष्णु पौडेलको भने गभर्नर अधिकारीसँग ट्युनिङ मिलेको थियो। उनले राष्ट्र बैंकले ल्याएका केही नीतिगत व्यवस्थालाई सहजीकरण पनि गरेका थिए। गभर्नर अधिकारी एमाले निकट हुन्।

यसैबीच नवनियुक्त अर्थमन्त्री महतले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार हुने बताएका छन्।

Metro Mart
worldlink

मन्त्रालयमा कार्यभार सम्हाल्दै महतले अहिले तत्कालका लागि सबै क्षेत्रको मनोबल उकास्नु सरकारको पहिलो प्राथमिकता हुने बताए। 'हामीले आत्मविश्वास बढाउनु पर्नेछ। अहिलेको निराशालाई आशामा बदल्नु छ। त्यसका लागि मौद्रिक नीति र वित्त नीतिको समन्वयकारी भूमिका रहन्छ। नेपाल राष्ट्र बैंकलगायत सबै निकाय र कर्मचारीको सहयोग चाहिन्छ। हामी गर्न सक्छौं भन्ने भावनाले काम गरौं,' अर्थमन्त्री महतले भने। सकारात्मक आत्मविश्वास जगाउन सके अर्थतन्त्रमा विस्तारै सुधारका संकेत देखिने उनको विश्वास छ।

लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, सार्वजनिक खर्च बढिरहेको, लगानी खस्कँदै गएको, बाह्य क्षेत्र बिग्रिँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या रहेको उल्लेख गर्दै उनले यस्ता समस्या समाधानका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयकारी भूमिका रहनुपर्ने बताए।

'अर्थ मन्त्रालय र राष्ट्र बैंकले समन्वयकारी भूमिकाबाटै समस्या समाधान गर्ने हो। हामीले नतिजामा आधारित भएर काम गरौं। हाम्रो मूल्यांकन पनि त्यसरी नै हुन्छ। अहिले आफ्ना लागि सोच्नेभन्दा पनि देश र जनताका लागि सोच्नुपर्ने बेला छ,' अर्थमन्त्री महतले भने। अर्थ मन्त्रालय र राष्ट्र बैंक सक्रिय भएर मात्र नतिजा निकाल्न नसकिने बताउँदै उनले समग्र राज्य संयन्त्र नै एकाकार भएर लाग्नुपर्नेमा जोड दिए।


 

प्रकाशित: Mar 31, 2023| 19:11 शुक्रबार, चैत १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्