सोमबार, वैशाख २२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पाशुपत क्षेत्रको विकासका लागि बृहत् गुरुयोजना अपरिहार्य : राष्ट्रपति पौडेल

पाशुपत क्षेत्रको विकासका लागि बृहत् गुरुयोजना अपरिहार्य : राष्ट्रपति पौडेल

पशुपतिनाथ मन्दिर नेपालसहित विश्वका हिन्दु धर्मावलम्बीका लागि महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएकाले यसको महिमा र गरिमालाई उँचो बनाउन राष्ट्रपति पौडेलको आग्रह।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउन बृहत् गुरुयोजना आवश्यक रहेको औंल्याएका छन्।

बिहीबार पशुपतिनाथ क्षेत्रमा राधामाधव समिति नेपालद्वारा जगद्गुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको ऐतिहासिक पौराणिक महत्त्वको वनकाली उद्यान उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

उनले पशुपतिनाथ मन्दिर नेपालसहित विश्वका हिन्दु धर्मावलम्बीका लागि महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताए। पशुपतिमा पूजाआजा र दर्शन सकेपछि केही समय वनकाली उद्यानविश्रामका लागि बगैंचामा मनमोहक वातावरणमा रमाउने गरी उद्यानलाई अझ व्यवस्थित गर्न जरुरी रहेको उनको भनाइ छ। 

‘हिन्दु धर्मावलम्वी तथा पर्यटकसमेत आउने पावन तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न वनकाली उद्यानको विशेष महत्त्व रहेको छ’, उनले भने। 

राष्ट्रपति पौडेलले पशुपति क्षेत्र विकास कोष पशुपति क्षेत्रको बृहत्तर हितका लागि स्थापित स्वायत्त र अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले यस परिसरभित्र पूजाआजा र अन्य व्यवस्थापनका सम्पूर्ण काम पशुपति क्षेत्र विकास कोषबाट हुनुपर्ने बताए। 

Metro Mart
worldlink

पशुपति मन्दिर परिसरभित्रको सुरक्षा, सम्भार र विकासमा तल्लीन पशुपति क्षेत्र विकास कोषलाई वनकाली उद्यान हस्तान्तरण भएपछि अझ संरक्षण र विकास हुने उनको धारणा छ। ‘पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्त्व छ। स्वदेश तथा विदेशका तमाम हिन्दु धर्मावलम्वी तथा पर्यटकसमेत आउने पावन तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न वनकाली उद्यानको विशेष महत्त्व छ’, उनले भने।

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रको विकासका लागि बृहत् गुरुयोजना निर्माण गरी यस क्षेत्रको विकास गर्न सुझाव दिए। पशुपति क्षेत्रमा स्वच्छ पिउने पानी, व्यवस्थित शौचालय, पार्किङ, इन्टरनेट, सूचना बोर्ड, सुरक्षा व्यवस्थाजस्ता आधारभूत र अत्यावश्यक सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सबैको ध्यान जान जरुरी रहेको उनको भनाइ छ।

प्रकाशित: Mar 30, 2023| 14:48 बिहीबार, चैत १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्