काठमाडौं- नेपाली चलचित्रको पछिल्लो प्रवृत्ति हेर्ने हो भने कमेडी चलचित्र दर्शकले मन पराउन थालेका छन्। हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएका कतिपय चलचित्रले लोभलाग्दो कमाइ गरिरहेका छन्।
यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन्। दुई नम्बरी, के घर के डेरा र झिंगे दाउ पनि हास्य विधाकै चलचित्र हुन्। यी सबैले बक्स अफिसमा राम्रै कमाइ गरे।
यसबाट पनि प्रष्ट हुन्छ- हास्य विधा दर्शकले रुचाएका छन्। निर्मातासमेत यस्ता फिल्ममा निर्धक्क भएर लगानी गरिरहेका छन्। ‘कबड्डी ४’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनाएको छ। यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन्।
कुनै समय सामान्य र छोटो भूमिकामा प्रस्तुत हुने हास्य कलाकारले अहिले चलचित्रमा मुख्य भूमिका पाएका छन्। तीतो सत्य टेलिचलचित्रकी कलाकार दीपाश्री निरौलाले निर्देशन गरेको छक्का पञ्जाका तीनै ‘सिरिज’ले राम्रो व्यापार गरे। चौथो सिरिजमात्र हेमराज बीसीले निर्देशन गरेका हुन्।
‘बक्स अफिस हेर्दा समेत हास्यव्यङ्ग्य शैलीमा तयार गरिएका चलचित्रकै वर्चश्व देखिन्छ। बजारमा जे कुराको माग हुन्छ, अभाव पनि त्यसकै हुन्छ। सायद खुसी खोज्न दर्शक हलसम्म आउनुभएको हुनसक्छ,’ निर्देशक प्रदीप भट्टराई भन्छन्। उनले निर्देशन गरेका चलचित्र जात्रा, शत्रु गते, जात्रैजात्रा र महापुरुषले पनि राम्रो व्यापार गरे। हास्यशैलीलाई कलात्मक रूपमा प्रस्तुत गर्ने भएकाले उनीसँग चलचित्र निर्माणमा सहकार्य गर्ने चाहना धेरैको छ।
भट्टराई यो सफलतालाई परिवर्तनको रूपमा हेर्छन्। ‘चलचित्रभित्र पहिला हास्यव्यङ्ग्य एउटा पाटोमात्र हुन्थ्यो। हास्य कलाकारको काम हँसाउने मात्र हुन्थ्यो। तर अहिले हास्य कलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छ,’ निर्देशक भट्टराईले भने, ‘यद्यपि हामी सचेत हुनुपर्छ। दर्शकले गरिरहनुभएको विश्वासलाई कम हुन दिनु हुँदैन। जति धेरैले चलचित्र हेर्नुहुन्छ, दायित्व उत्ति नै बढ्छ।’
हास्य कलाकार मनोज गजुरेल हास्यव्यङ्ग्यलाई मनोरञ्जनको रूपमा मात्र नलिन आग्रह गर्छन्। ‘हामीले गर्ने व्यङ्ग्यको प्रभाव समाजमा पर्छ। त्यसैले ख्यालठट्टाका लागि मात्र सामग्री बनाउनु हुँदैन। व्यङ्ग्य नेपालको सम्पूर्ण अंग हो। त्यसैले हामीले प्रस्तुत गर्ने प्रस्तुतिको महत्व छुट्टै छ,’ गजुरेल भन्छन्। केही चलचित्रसँगै टेलिचलचित्रमा अभिनय गरेका गजुरेल हृदय हँसाउने कोसिस आफूले गरिरहेको बताउँछन्। ‘बाहिरी हाँसोमात्र नभई भित्री रूपमा असर गर्ने सामग्रीमा हामीले ध्यान दिनुपर्छ। चलचित्रमा दर्शकले देखाइरहनुभएको विश्वासलाई घट्न नदिई बढाउने दायित्व छ,’ गजुरेलले भने।
सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे विकृतिलाई प्रहार गर्दै आम जनताको कुरालाई बाहिर ल्याउँदा हास्यव्यङ्ग्य रुचाइएको बताउँछन्। ‘चलचित्र होस् वा प्रहसन त्यहाँ जनताको मनको कुरा भनिएको आभास भएकै कारण रुचाइएको हुनुपर्छ। विकृतिलाई गरिएको व्यङ्ग्य कलाकात्मक रूपमा प्रस्तुत गरेकाले नै फस्टाएको हो,’ अध्यक्ष गाम्नागेले भने।
आफू र संस्थाले हास्यव्यङ्ग्यलाई सभ्य र शालिन बनाउँदै सामाजिक रुपान्तरणमा योगदान गर्ने बाटोमा रहेको उनले बताए। निर्देशक भट्टराईले हास्यव्यङ्ग्य विधामा चलचित्र बनाइरहेका निर्माताले अझै मेहनत गर्नुपर्ने बताए। ‘हामी हौसिएका छौं, चलचित्र उद्योग नै हौसिएको छ। यसले चुनौती थपेको छ,’ उनले भने, ‘टेलिचलचित्र अहिले निकै कम छन्। कुनै समय हरेक दिन हास्य विधामा निर्मित टेलिचलचित्र प्रसारण भएका थिए। जसलाई हेर्न दर्शक घरमा फुर्सद निकालेर बस्ने गरेका थिए। अहिले सानो पर्दामा आएको अवस्था ठूलो पर्दामा आउन दिनु हुँदैन।’ उनले विषयवस्तु चयन, प्रस्तुतिकरण, कलाकारको छनोटलगायत विषयमा आफूले विशेष ध्यान दिइरहेको बताए।
टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेलगायत कलाकार अहिले चलचित्रमा सफल छन्। उनीहरूले काम गरेका चलचित्रले मुनाफा दिनुका साथै व्यापारमा रेकर्डसमेत बनाउन सफल भएका छन्।
- रासस