बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आठ महिनामा पेट्रोलियम आयातबाट साढे ७४ अर्ब बढी राजस्व संकलन

आठ महिनामा पेट्रोलियम आयातबाट साढे ७४ अर्ब बढी राजस्व संकलन

निगमले चालू आव साउनदेखि फागुुनसम्मको अवधिमा इन्धन आयात गरेर ७४ अर्ब ६८ करोड ५३ लाख  ३४ हजार ७१५ राजस्व संकलन गरेको हो।
 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं– नेपाल आयल निगमलाई चालू आर्थिक वर्षको आठ महिनामा इन्धन आयात गरेर पेट्रोलियम पदार्थबाट साढे ७४ अर्ब बढी  राजस्व संकलन भएको छ। निगमले चालू आव साउनदेखि फागुुनसम्मको अवधिमा इन्धन आयात गरेर ७४ अर्ब ६८ करोड ५३ लाख  ३४ हजार ७१५ राजस्व संकलन गरेको हो।

निगमका अनुसार सोही अवधिमा १ खर्ब ९७ अर्ब ४८ करोड ७२ लाख ३० हजार बराबरको १८ लाख २१ हजार ५८६ किलोलिटर इन्धन आयात गर्दा उक्त रकमको राजस्व संकलन भएको हो।

निगमले इन्धन आयात घटेकाले राजस्व संकलनमा कमी आएको बताएको छ। अघिल्लो वर्षको तुलनामा राजस्व संकलनमा १७ प्रतिशतले कमी आएको निगमको भनाइ छ। 

निगमका अनुसार आठ महिनामा इन्धन आयात गरेर भन्सार शुल्कबापत २४ अर्ब ४८ करोड रुपियाँ, मूल्य अभिवृद्धिकर (भ्याट) बापत ३१ अर्ब ६० करोड राजस्व संकलन भएको छ। 

पूर्वाधार विकास कर (बूढीगण्डकी)बापत १३ अर्ब २९ करोड, सडक मर्मत शुल्कबापत ३ अर्ब ६० करोड र वातावरण शुल्कबापत २ अर्ब राजस्व संकलन भएको छ। प्रत्येक महिना इन्धन आयात गरेबापत भन्सार बिन्दुमै राजस्व संकलन हुने गर्छ। 

Metro Mart
worldlink

डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टीतेल र खाना पकाउने एलपी ग्यास आयात गरेर राजस्व संकलन भएको हो। निगमका अनुसार चालु आवको आठ महिनामा ८ लाख ५९ हजार ६९ किलोलिटर डिजेल, ४ लाख ६९ लाख ७६० किलोलिटर पेट्रोल, १ लाख २४ हजार ८४५ किलोलिटर हवाई इन्धन, ७ हजार ३७६ किलोलिटर मट्टीतेल र ३ लाख ६० हजार ५३५ मेट्रिक टन ग्यास आयात भएको छ।  

निगमले प्रतिलिटर पेट्रोलमा ६२ रुपैयाँ ९८ पैसा, डिजेलमा ४७ रुपैयाँ ४१ पैसा, मट्टीतेलमा १३ रुपैयाँ ७८ पैसा, हवाई इन्धनमा २३ रुपैयाँ ९८ पैसा र खाना पकाउने ग्यास प्रतिसिलिन्डरमा ३१४ रुपैयाँ राजस्व संकलन गर्छ। 

भन्सार बिन्दुमा संकलित राजस्व सरकारको खातामा जम्मा हुन्छ। निगमका अनुसार भन्सार शुल्कबापत प्रतिलिटर पेट्रोलमा २५ रुपैयाँ २२ पैसा, डिजेलमा १२ रुपैयाँ, मट्टीतेलमा १२ रुपैयाँ, हवाई इन्धनमा २ रुपैयाँ १० पैसा र ग्यासमा ९१ रुपैयाँ ८२ पैसा संकलन हुने गर्छ।

यस्तै,  मूल्य अभिवृद्धि कर (भ्याट)बापत पेट्रोलमा २० रुपैयाँ ८२ पैसा, डिजेलमा १९ रुपैयाँ ७९ पैसा, हवाई इन्धनमा २१ रुपैयाँ ८६ पैसा र ग्यासमा २०१ रुपैयाँ संकलन हुने गर्छ।

निगमका अनुसार पूर्वाधार करबापत प्रतिलिटर डिजेल, पेट्रोलमा १० रुपैयाँ संकलन हुने गर्छ। सडक मर्मत दस्तुुरबापत पेट्रोल प्रतिलिटरमा ४ रुपैयाँ र डिजेल प्रतिलिटरमा २ रुपैयाँ संकलन हुने गर्छ।

वातावरण शुल्कबापत प्रतिलिटर डिजेल र पेट्रोलमा १ रुपैयाँ ५० पैसा, मूल्य स्थिरीकरण कोषमा पेट्रोल प्रतिलिटरमा १ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटरमा १ रुपैयाँ ५० पैसा र ग्यास प्रतिसिलिन्डरमा १८ रुपैयाँ संकलन हुने गरेको छ।

प्रकाशित: Mar 29, 2023| 11:51 बुधबार, चैत १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्