बुधबार, वैशाख १७, २०८२

झपक्कै फुल्यो आँप 

बगैंचाका आँपका रुख झपक्कै फुले पनि हावाहुरी, असिनापानीले फूल झारिदिने त्रासमा छन् किसान।
 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

तुलसीपुर– यस वर्ष दाङमा  विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ। फूलले आँपका रुखै ढाकेका छन्। सोही कारण किसानमाझ खुसी छाएको छ।

‘अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौं’, तुलसीपुर–७ प्रसेनीका किसान नवराज सुवेदीले भने, ‘यसले हामीलाई खुसी बनाएको छ। हेर्दा पनि मनमोहक देखिन्छ।’

आँप धेरै फुले पनि यसलाई जोगाउन चुनौती रहेको तुलसीपुर–९ का किसान दिवेश केसीले बताए। ‘हावाहुरी, असिनापानीले फूल झारिदिने हो कि भन्ने चिन्ता छ। आँप धेरै फले पनि त्यसको बजारीकरण नहुँदा कुहिएर जाने हो कि भन्ने पनि चिन्ता छ,’ उनले भने।

यस वर्ष आँपमा ‘अनएयर’ भएकाले पनि धेरै फूल फुलेको तुलसीपुर उपमहानगरका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए। ‘फूल फुल्ने बिरुवामा एक वर्ष अनएयर र एक वर्ष अफएयर हुन्छ’, उनले भने, ‘यस वर्ष आँपको अनएयर चलिरहेको छ। त्यसैले आँप धेरै फुलेको हो।’

असिनापानी, हावाहुरीले असर नगरे यस वर्ष आँप उत्पादन अत्यधिक वृद्धि हुने उनको भनाइ छ।  आँप उत्पादन भए पनि त्यसलाई बजारीकरणका लागि अचार बनाउनेदेखि पाक्दासम्म ध्यान दिनुपर्ने उनले बताए।

Metro Mart
worldlink

आँप बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था रहेको जनाउँदै यसलाई अन्त्य गर्न आँप संरक्षण तथा व्यवसायिकीकरणमा ध्यान दिनुपर्ने उनको सुझाव छ।

दाङको पवननगर, मानपुर र बिजौरी क्षेत्र आँप उत्पादनका लागि उत्तम क्षेत्र मानिन्छ। अहिले दाङमा स्थानीय बिजु, सुपारी जातका आँप उत्पादन हुने गर्छ।

त्यस्तै, दसरी, माल्डा, अम्रपाली, नागपुरे, बम्बे जातका आँप उत्पादन हुने गरेको छ। जिल्लामा बर्सेनि ८ हजार मेट्रिक टन हाराहारी आँप उत्पादन हुने गर्छ।

प्रकाशित: Mar 28, 2023| 12:58 मंगलबार, चैत १४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्