काठमाडौं– महोत्तरीबाट ११ दिने कष्टकर पैदलयात्रा हुँदै संघीय सरकारसँग आफ्ना माग पूरा गराउन आइतबार काठमाडौं आएका मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता टोली घोषणा गरिएको छ। सरकारले गृह, कानुन र प्रधानमन्त्री कार्यालयका सहसचिव एवं उपसचिव सम्मिलित चार सदस्यीय वार्ता टोली गठन गरेको हो।
मिटरब्याज पीडित लामो समयदेखि सरकारसँग आफूहरूको थातबास उठाइदिने मिटरब्याजी साहूमाथि कारबाही गर्न माग गर्दै आएका थिए। तर मागको सुनुवाइ नभएपछि उनीहरू सिंहदरबारमै उभिएर सरकारलाई खबरदारी गरिरहेका छन्।
सोमबार काठमाडौंको खुलामञ्च पस्न अवरोध भएपछि मिटरब्याज पीडितहरू आज प्रधानमन्त्रीको सरकार निवास बालुवाटार घेर्न जाँदै थिए। तर बालुवाटार जाने क्रममा नक्सालमा गृह मन्त्रालयका पदाधिकारी पुगेर उनीहरूका माग पुष्पकमल दाहालसमक्ष लगिदिने र प्रधानमन्त्रीसँग भेटाइदिने वचन दिएपछि त्यहाँबाट फर्किएका छन्।
मिटरब्याज पीडितहरू यतिबेला भद्रकाली हुँदै माइतबार मण्डलामा धर्नामा बस्ने तयारीमा छन्।
सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगासहितको वार्ता टोली गठन गरेको हो।
वार्ता टोलीले मिटरब्याज पीडितसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र त्यसको निष्कर्ष प्रधानमन्त्रीलाई सुनाउनेछन्। त्यसपछि प्रचण्डले मिटरब्याज पीडित संघर्ष समितिका प्रतिनिधिसँग सिंहदरबारमै भेटेर माग सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।
यसअघि सोमबार बेलुकी नै मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी प्रचण्डले खटाएका सरकारी अधिकारी र सचिवालयका सदस्यले वीर अस्पताल पुगेरै समस्या समाधानका लागि प्रधानमन्त्री तयार रहेको आश्वासन दिएका थिए।