आइतबार, वैशाख २८, २०८२

स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

चितवन- स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ। चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन्।

कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताए। उनले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच सय मेट्रिक टन मह मौज्दात रहेको बताउनुभयो। सोही अनुपातमा भारतबाट गुणस्तरहीन मह आयात भएको उनले जानकारी दिए। भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या आएको उनको भनाइ छ।
 
नेपालमा वार्षिक महको खपत आठ हजार मेट्रिक टन हुँदै आएको छ। नेपालबाट आठ मेट्रिक टन मह निर्यातसमेत भएको छ। नेपालमा वार्षिक ३० करोड ३४ लाख बराबरको मह आयात हुँदा रु १६ करोड ८१ लाखको मह निर्यात भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

नेपाल मौरीपालन महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले स्वदेशी महले बजार नपाउँदा किसान समस्यामा परेको बताए। उनले सरकारले नीतिगत पहल नगर्दा नेपाली किसानको मह उत्पादन हुन नसकेको गुनासो गरे। उनका अनुसार पछिल्लो चार महिनामा दुई सय मेट्रिक टन मह आयात भएको छ।

मौरीविज्ञ डा शिवप्रसाद रिजालले मौरी र महको विषयमा जनचेतना जगाउन आवश्यक रहेको बताए। मौरी र पर्यावरण विषयमा कार्यपत्र पेस गरेका रिजालले मौरीले पारिस्थितिक प्रणालीलाई कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महको बजारीकरणका विषयमा स्थानीय तहलाई अधिकार दिएकाले जनप्रतिनिधि सक्रिय भएर लाग्नुपर्ने धारणा राखे। मह दिवसका अवसरमा नेपाल मौरीपालक महासङ्घ चितवनले जिल्ला प्रहरी कार्यालय अगाडि सर्वसाधरणलाई महसमेत खुवाएको थियो। जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले किसानको समस्यालाई समाधान गर्नका लागि पहल गर्ने बताए। उनले स्थानीय तहका प्रमुखलाई राखेर समस्याका समाधान खोजिने बताए।

Metro Mart
worldlink

मौरी विकास कार्यक्रम भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ चितवन, कृषि ज्ञान केन्द्र र नेपाल मौरीपालन महासङ्घ चितवनले अन्तक्र्रिया र सर्वसाधरणलाई मह खुवाएर मह दिवस मनाएका हुन्।

प्रकाशित: Mar 28, 2023| 08:33 मंगलबार, चैत १४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्