सोमबार, वैशाख २९, २०८२

तनहुँमा सात महिनामा ३६ सवारी दुर्घटना, १५ जनाले गुमाए ज्यान

चालू आव २०७९/८० साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परेर १५ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले विवरण सार्वजनिक गरेको हो। 
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं– तनहुँमा चालू आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ। चालू आव २०७९/८० साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परेर १५ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मुत्यु हुनेमा १० पुरुष, चार महिला र एक बालक रहेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक राजीव विष्टले बताए। सोही अवधिमा भएका दुर्घटनामा २८ जना घाइते भएका छन्। त्यसमध्ये १९ पुरुष, पाँच महिला र चार बालबालिका छन्। यो अवधिमा जिल्लामा ३६ सवारी दुर्घटना भएका छन्।

गत आव २०७८/७९ मा तनहुँमा ४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। उक्त अवधिमा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिका गरी ४९ जनाको मृत्यु भएको थियो।

कार्यालयले सात महिनाकै अवधिमा सवारीसाधनलाई कारबाही गरेर २ करोड ९ लाख ३७ हजार ५ सय राजस्व संकलन गरेको छ। प्रहरीले २६ हजार ७ सय सवारीसाधनलाई कारबाही गरेर उक्त राजस्व संकलन गरेको हो। 

कारबाहीमा पर्नेमध्ये दुईपांग्रे सवारीसाधनको संख्या बढेको छ। ९ हजार ५४४ मोटरसाइकल तथा स्कुटर, ५ हजार १४५ ट्रक, टिपर, ५ हजार ९२९ कार, जिप, १ हजार २१९ ट्रयाक्टर, ४ हजार ६५८ यात्रुवाहक बस र २०५ अन्य सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। 

Metro Mart
worldlink

आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। उक्त अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका थिए। आर्थिक वर्ष २०७६/७७ मा ४४ र आव २०७५/७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। 

जिल्लामा सबैभन्दा बढी दुईपांग्रे सवारीसाधन दुर्घटना हुने गरेको छ। दुईपांग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको विष्ट बताउँछन्। उनले भने, ‘तीव्र गतिका कारण दुईपांग्रे सवारीसाधन दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। युवाले जथाभावी सवारी हाँक्ने गरेकाले यो संख्या अत्यधिक छ।’

सडकको भौगोलिक बनाबट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीको भनाइ छ। दुर्घटना कम गराउन प्रहरीले विद्यालय, क्याम्पसमा पुगेर पनि अभियान सञ्चालन गरिरहेको छ। 

जिल्लामा बढीजसो दुर्घटना पृथ्वी राजमार्गमा हुने गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थान हुन्।

प्रकाशित: Mar 27, 2023| 14:38 सोमबार, चैत १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्