काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्दा पक्राउ परेका तीन युवालाई कारागार पठाइएको छन्। काठमाडौं जिल्ला प्रशानसनले तीन युवासँग अभद्र व्यवहार मुद्दामा जनही ५ हजार धरौटी मागे पनि तिर्न अस्वीकार गरेपछि जेल चलान गरिएको हो।
प्रचण्डविरुद्ध नाराबाजी गरेको बात लगाएर पक्राउ परेका तीन युवा १२ चैतमा धरौटी मागिएको थियो।प्रधानमन्त्री प्रचण्ड ७ चैतमा काठमाडौंको तीनकुनेमा आयोजित अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस कार्यक्रममा सहभागी हुने क्रममा केही युवाले नाराबाजी गरेका थिए।
प्रहरीले ती युवालाई नियन्त्रणमा लिँदा मुख थुनेको दृष्य सञ्चार माध्यममा सार्वजनिक भएपछि प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर नागरिक स्तरबाटै विरोध भइरहेको छ। लोकतन्त्रमा वाक स्वतन्त्रताको ग्यारेन्टी भए पनि गृह मन्त्रालयसमेतको नेतृत्व लिएका प्रधानमन्त्रीविरुद्ध बोल्नेलाई मुख थुनिएपछि प्रचण्ड आलोचनामा पर्दै आएका छन्।
प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।