बुधबार, असार ४, २०८२

२२ अर्ब १० करोड आन्तरिक ऋण उठाइँदै

नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत २२ अर्ब १० करोड रुपैयाँ उठाउन लागेको हो।
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं- सरकारले २२ अर्बभन्दा बढी आन्तरिक ऋण उठाउने भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत २२ अर्ब १० करोड रुपैयाँ उठाउन लागेको हो।

१७ अर्ब १० करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ।

ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ। जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ। सरकारले गत बुधबार पनि ट्रेजरी बिलमार्फत पौने २४ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गरेको थियो। पछिल्लो पटकको बोलकबोलमा ९.५९ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ। बैंकले सबैभन्दा बढी १०.७४ प्रतिशत र सबैभन्दा कम ९ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए।

सरकारले चालू आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म)मा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ। यो आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाउन लागेको हो।

सरकारले चालू आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ। ट्रेजरी बिल र विकास ऋणपत्रको ब्याजदर बोलकबोलका आधारमा तय हुने राष्ट्र बैंकले बताएको छ।

प्रकाशित: Mar 27, 2023| 12:10 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्