ग्लोबल मनि विकलाई सार्थकता दिन प्रभु बैंकले विभिन्न कार्यक्रम गरेको छ। गण्डकी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुबाट ‘प्लान योर मनी, प्ल्नाट योर फ्युचर’ भन्ने नाराका साथ बैंकले मनि विक मनाएको हो।
कार्यक्रममा मुस्ताङ जिल्लाको लोमान्थाङ, म्याग्दी जिल्लाको सिबाङ्ग, गोरखा जिल्लाको तुम्सिका गाउँ, मनाङ जिल्लाको तिमाङलगायत गण्डकी प्रदेश भित्रका १०० भन्दा वढी सुगम तथा दुर्गम क्षेत्रहरुका व्यक्तिहरुलाई वित्तीय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, बिमा, विप्रेषण विषयक वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
गत वर्ष पनि जनमानसमा वित्तीय ज्ञानको अभिवृद्घिका लागि ग्लोवल मनि विकको अवसरमा प्रभु बैंकले गण्डकी प्रदेशबाट म्याग्दी जिल्ला स्थित गुर्जाखानी तथा सामुन्द्रिक सतह देखि ३,९२० मिटरमा रहेको मुस्ताङ जिल्लाको घारा गाउँमा समेत गरी ७८ स्थानबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले जानकारी दिए ।
साथै, विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने सीप बढाउने, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउने, उपयुक्त वित्तीय सेवाहरू छनौट र प्रयोग गर्र्न सक्ने क्षमता विकास गर्ने, भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना वारे ज्ञान र सीप प्रदान गर्ने उदेश्यले कार्यक्रम सम्पन्न गरिएको छ।
यस्ता साक्षरताले सहभागी व्यक्तिहरुलाई आफ्नो पैसा वा सम्पत्तिलाई राम्रोसँग परिचालन गर्ने ज्ञान वृद्धि गर्न, आफ्नो जीवनकालमा गर्नुपर्ने खर्चहरुको योजना गर्न, वित्तीय सेवा सम्बन्धी आवश्यक सूचनाहरू प्राप्त गर्न ठुलो टेवा पुग्ने विश्वास लिईएको बैंकका प्रादेशिक कार्यलयका प्रमुख व्यावसायिक केन्द्र अधिकृत शान्ति शेरचनले प्रष्ट पारिन्।
विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उदेश्यले वार्षिक रुपमा मनाईने अभियान हो। यो सप्ताह विश्वव्यापी रुपमा हरेक वर्ष अर्गनाइजेसन अफ इकोनोमिक को–अप्रेसन एन्ड डेभलपमेन्टकको आयोजना तथा नेपाल राष्ट्र बैंकको संयोजनमा मनाउने गरिन्छ।