काठमाडौं- प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक-२०२३ को अवसरमा काठमाडौं बहिरा संघ नेपालको सहयोगमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौं बहिरा संघ नेपाल अन्तर्गत रहेका सदस्यमध्ये ५० भन्दा बढी सदस्यको सहभागिता भएको उक्त कार्यक्रम मुख्यतया पूँजी बजारमा शुरुवाती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित रहेको क्यापिटलले जनाएको छ।
कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा श्रीया कुटुले गरेका थिए भने यसलाई सांकेतिक भाषामा दोभाषेहरु रेनु शाह तथा सुनीता श्रेष्ठले प्रस्तुत गरेका थिए। कार्यक्रम पूँजी बजारमा शुरुवाती प्रवेश के कसरी गर्ने, मेरो शेयर के कसरी चलाउने, शेयरबजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार कार्यक्रममा काठमाडौं बहिरा संघ नेपाल सम्बद्घ सहभागी सदस्यहरुले शेयर बजार सम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा अब शेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सक्ने बताउँदै आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताएका छन् ।