शनिबार, साउन ४, २०८२

दुई सय वर्ष पुरानो घर संरक्षण गरिँदै

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

म्याग्दी- झपक्कै फुलेका आँपका रुख। विभिन्न प्रजातिका फूल र हरियालीले छपक्कै सुन्दर बगैँचा। सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका चिटिक्कका ढुंगेघर।

आँखीझयाल, फलाँटे ढोका। नजिकै कलकल झरेको पानीको धारो। पश्चिमतर्फको ठाँठकीको कुनामा ढिकी र जाँतो। तलतिर म्याग्दी नदी। वरिपरि गहुन् र केराउ फलिरहेको हरियाली फाँट।

हेर्दै मन लोभिने खालको छ सीम गाउँ। म्याग्दीको मंगला गाउँपालिका-२ मा पर्ने यो गाउँ बेनी-दरबाङ सडकखण्डको नजिकै करिब पाँच सय मिटरको दूरीमा छ।

यहाँ मल्लकालीन वास्तुकलाका छ वटा पुराना घर छन। तीमध्ये एउटा घर दुई सय वर्ष पुरानो छ। त्यो घरलाई गाउँले र त्यहाँ पुग्ने पर्यटकले ‘बूढोघर’ भनेर भन्दछन्।

सीमको गाउँ र खेतको फाँट नै एउटै परिवारको स्वामित्वमा छ। इतिहासको साक्षी बनेर रहेको सीम गाउँको इतिहास राणाकालीन समयको विर्ता प्रथासँग जोडिएको छ।

१८७० को दशकमा बाग्लुङका श्रीप्रसाद कँडेलले तत्कालीन शासकबाट विर्ता स्वरुप यो गाउँ पाएकाे र उनले नै यहाँ घर निर्माण गरेकाे जानकार बताउँछन्। त्यतिबेला जुन निर्माण सामग्री र जुन स्वरुपमा निर्माण गरिएको थियो अहिले पनि यथावत् अवस्थामा नै ती घर रहेका छन।

विर्ता स्वरुप पाएको यो गाउँ कँडेलका सन्ततिले १९७४ मा पोखराका लप्टन कोमलसिंह खत्रीलाई बिक्री गरेकाे र त्यसयता यहाँ कोमलसिंहका सन्तानको बसोबास रहेको छ।

तीमध्ये ‘बूढोघर’ नाम दिइएको तीनतले एउटा घर यहाँको सबैभन्दा पुरानो घर भएको हाल यहाँ बस्दै आएका लप्टन कोमलसिंहका नाति ६३ वर्षीय मनोजकुमार केसीले बताए।

यी घर पुरातात्विक र प्राकृतिक खोज तथा अनुसन्धानका लागिसमेत निकै महत्वपूर्ण भएकाले आफूले सम्पदाको संरक्षण गरेको उनकाे भनाइ छ।

घरको तल्लोपट्टि म्याग्दी नदी, माथिल्लोपट्टि बेनी-दरबाङ सडक, वरिपरि फराकिलो खेतीयोग्य फाँट, सिँचाइकुलो, ढुंगा बिछ्याएर बनाइएको चिटिक्कको बाटो, घर वरपर आँप र विभिन्न फलफूलको बगैँचा, खानेपानी, विद्युत् र सञ्चारको सुविधा भएको यो गाउँ अत्यन्त आकर्षक देखिन्छ।

यहाँका घरको इतिहास दुई सय वर्ष पुरानो रहेको र आफूहरू यी सम्पदाको संरक्षण गर्नका लागि बसाइँ सरेर कतै पनि नगएको कोमलसिंहकी नातिनी बुहारी विष्णु केसीले बताइन्।

खत्री परिवारका सदस्य अष्ट्रेलिया र अमेरिकामा छन। जिल्लाकै प्राचीन सम्पदा र ऐतिहासिक महत्वको हुँदाहुँदै पनि सीम गाउँ ओझेलमा परेको र सरोकारवालाले कुनै चासो नलिएको खत्री परिवारका सदस्यको भनाइ छ।

मल्लकालीन इतिहास, कला, संस्कृति र तत्कालीन समयको सामाजिक परिवेश झल्कने यो गाउँ र यहाँका घरको प्रचारप्रसार गरी यी सम्पदाको ऐतिहासिक महत्वलाई बुझाउन सक्ने हो भने यो गाउँ पर्यटकीय महत्वको गाउँ बन्नसक्ने प्रवल सम्भावना रहेको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बताए।

सीममा मात्रै होइन म्याग्दीका गौश्वारा, भिरमुनि, पुला, पन्थोक, रुम, देविस्थानलगायतका गाउँमा प्राचीन वास्तुकलाका घर अझैसम्म पनि रहेका छन। ती इतिहासको साक्षी र पुर्खाको नासोकारूपमा रहेका घरको संरक्षण नहुँदा अलपत्र अवस्थामा देखिने गरेका स्थानीयले बताएका छन।

प्रकाशित: Mar 26, 2023| 05:32 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्