काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले पछिल्लो २४ घन्टामा बारा, झापा, दाङमा भएको आगलागीमा साढे ३९ लाख बराबरको धनमाल क्षति भएको बताएको छ।
प्रहरीका अनुसार बाराको जितपुर सिमरा उपमहानगर–७ केराढोका शान्तिटोलका ४० वर्षीय विमलेश चौधरीको आशिक कपास उद्योगमा करेन्ट सर्ट भई बिहीबार राती आगलागी भएको छ।
आगलागी हुँदा उद्योगभित्र रहेको कपास, कपडा र कपास पेल्ने एक थान मेसिन जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका–१ होक्सेका केशव निरौलाको गोठ घरमा विद्युत सर्ट भई गए राती आगलागी हुँदा प्र१–०१–०१६प४२५५ नम्बरको मोटरसाइकल, अन्नपातसमेत गरी करिब १४ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
प्रहरी समाचार कक्षका अनुसार दाङ, घोराही उपमहानगर–११ हापुर खोलामा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा१ख १२६७ नम्बरको टिपरमा गए राती आगलागी हुँदा करिब ४ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।