बुटवल- बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका महत्वपूर्ण योजना वर्षाअघि सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन।
चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने संघ, प्रदेश र उपमहानगरपालिकाको लगानीमा सञ्चालित योजनाको आज अनुगमनका क्रममा उनले निर्माणाधीन योजना वर्षाअघि नै सम्पन्न गर्न निर्देशन दिएका हुन्।
बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको प्रमुख राजमार्ग क्षेत्र, योगीकुटीदेखि कालिका पथ क्षेत्र र रानीगञ्जसम्मका सडक, पर्खाल र निर्माणाधीन योजनाको अनुगमन गर्दै प्रमुख पाण्डेयले निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराए।
प्रमुख पाण्डेयले बजेट विनियोजन भएका योजना समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिश गर्ने बताए। यस्तै उपमहानगरपालिकाको टोलीले तिनाउ नदीकिनार क्षेत्रको अनुगमन गर्दै नदीजन्य पदार्थको चोरीनिकासी रोक्नका लागि नियमित अनुगमन गर्न टोली खटाइएको छ।
बुटवलतर्फको नदीकिनार क्षेत्रबाट चोरीनिकासी बढेको पाइएकाले चोरीनिकासी रोक्नका लागि टोली खटाइएको नगरप्रमुख पाण्डेयको भनाइ छ। ‘सीमावर्ती स्थानीय तहमा निर्माण भइरहेका संरचना तथा निर्माण कम्पनीको निगरानी गरी स्थानीय तहसँग छलफल गरेर नियमनमा ल्याउने योजना छ’, प्रमुख पाण्डेयले भने।
प्रमुख पाण्डेयले नदीजन्य पदार्थको चोरीनिकासी रोक्नका साथै वर्षामा बाढी र कटानबाट हुने क्षति कम गर्न योजना महाशाखा र विपद् शाखालाई निर्देशन दिए।