पोखरा- आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय शहर पोखराको लेकसाइडमा होटलको ११औं शाखा सञ्चालनमा ल्याएको छ।
यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मी लगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो। होटलको सेवाबारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार भेटघाटमा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले १० करोड रुपैयाँको लगानीमा पोखरामा होटल व्यवसाय सञ्चालनमा ल्याइएको बताए।
आतिथ्य सेवामा प्रालिले हालसम्म झण्डै ६० करोड रुपैयाँ लगानी गरिसकेको जनाइएको छ। होटलका देशभरका शाखामा गरी ३०० बढीले रोजगारी पाएको होटलका प्रबन्ध निर्देशक ज्ञवालीले उल्लेख गरे। ‘काठमाडौं र नेपालगञ्जमा पनि सेवा विस्तारको तयारीमा छौं,’ उनले भने।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी पोखरामा सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले आउँदो दशकभित्र होटलका १०० शाखा विस्तार गर्ने लक्ष्य लिएको छ। ‘जहाँबाट आतिथ्यको शुरूआत हुन्छ’ आदर्श वाक्यसहित होटल पौवा आतिथ्य सेवा क्षेत्रमा प्रवेश गरेको थियो। पौवा प्रालिमा डेढ सय बढी लगानीकर्ता जोडिएका छन्।
‘होटलमा लगानी गर्नु चुनौतीपूर्ण छ तर हामी यो चुनौतीलाई अवसरमा रूपान्तरण गर्न होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौं,’ प्रबन्ध निर्देशक ज्ञवालीले भने, ‘हामीले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता नेपालीपनको हुने प्रतिबद्धता व्यक्त गर्दछौं।’
आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली पहिचान सहितको सेवा दिने उद्देश्यले पोखरालाई रोजिएको होटल व्यवस्थापनले जनाएको छ। पौवामा आउने जो कोही पाहुनाले नेपाली संस्कृति, संस्कार र रैथाने स्वादको अनुभूति गर्न पाउने होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए।
पोखरामा खुलेको पौवाको ११औं शाखाको शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबाट औपचारिक शुभारम्भ हुने जनाइएको छ। सो अवसरमा नेपाली आतिथ्यता प्रवद्र्धन, फुड टेस्ट लगायतका कार्यक्रम आयोजना गरिने भएको छ।