खजुरा- बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ। आँपका बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जनाएको छ। बर्सेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नाका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ।
एकाध आँप भएका बारी होस् वा आखन खाँपको बगैँचा नै यतिबेला सबैतिर आँपका रूखमा फूल झमक्क फुलेका छन्। बाँकेमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपका रूख लगाइएका छन्।
व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा आँपका फूल फुलेको कृषि ज्ञान केन्द्रका प्रमुख शकील अहमदले बताए। उनका अनुसार यस वर्ष आँपको उत्पादन बढ्न सक्ने विश्वास छ।
उनले भने, ‘आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ, यस वर्ष सबैतिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ।’ बाँकेमा चैत, वैशाख तथा जेठमा आउने हावाहुरीले आँप झारेर क्षति पुर्याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले जनाएको छ।
जिल्लामा सबैभन्दा बढी दशहरी आँप लगाइएको छ। माल्दा लगायतका अन्य आँपका रुख पनि लगाइएको छ। बाँकेभर करिब तीन सय हेक्टर जमिनमा आँप लगाइएको अनुमान केन्द्रको छ।
जिल्लामा अधिकांशका घरमा आँप लगाएको पाइन्छ। जिल्लाको सीतापुर, भवानियापुर, डुडुवा लगायतका क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ।