प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवाविरुद्ध मुद्दा चलाइने भएको छ। सार्वजनिक कार्यक्रममा प्रचण्डविरुद्ध नाराबाजी गर्ने ती युवाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।
उनीहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। पक्राउ परेकाहरु सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का हुन्।
उनीहरुले ‘गरिबमारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, मिटर ब्याज ब्याक गर्, युवाहरुलाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाएका थिए। प्रहरीले मुख थुन्दै बाहिर निकाल्दै गर्दा ती युवाले 'आतंककारी प्रचण्ड मुर्दावाद'को नारासमेत लगाउन भ्याएका थिए।
आफूहरुलाई स्वतन्त्र युवा अभियन्ता बताउने उनीहरुलाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको थियो। उनीहरुलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ।