बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा समेटिए 

वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा समेटिए 

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारी तथा विदेश स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको हो।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं– सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारी तथा विदेश स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ। कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने काम थालेको हो।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा सूचीकरणको काम सुरु भएको घोषणा गरे। 

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य सुरु गरिएको कोषले जनाएको छ। योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारमा जाने युवालाई विभिन्न बहानामा दुःख दिने कामको अन्त्य हुने बताए। ‘अब दुःख दिने काम अन्त्य भएको छ। वैदेशिक रोजगारीका लागि जाने युवालाई सहज वातावरण हुनुपर्छ’, उनले भने।

गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न पहल गर्दै आएको उनको भनाइ छ। विभिन्न परिस्थिति र बाध्यताले वैदेशिक रोजगारीमा जानुपरेको अवस्थालाई अन्त्य गर्न सरकार कटिबद्ध रहेको उनले बताए।

कोषमा आबद्ध हुने वैदेशिक रोजगारमा रहेका श्रमिकले पनि जीवनको उत्तराद्र्धमा पेन्सन पाउने अवस्था बनेको उल्लेख गर्दै उनले यसले श्रमिकको जीवनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

Metro Mart
worldlink

मुख्यसचिव डा. शंकरदास बैरागीले गैरआवासीय नेपालीको सीप र पुँजीलाई नेपालको समृद्धिमा लागाउन सरकारले सहजीकरण गरेको धारणा राखे।

अनौपचारिक र स्वरोजगार श्रमिकका लागि कुनै पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर रहेको अवस्थामा कोषले ल्याएको योजना नयाँ सुरुआत भएको उनले बताए। कोषको दायरा विस्तार गरेर सरकारको दायित्वलाई कम गर्दै लैजान सकिए नागरिकले अप्ठेरो पर्दा कोषबाट सहयोग लिन सक्ने उनको धारणा छ। 

कोष सञ्चालक समिति अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले योजनाले वैदेशिक क्षेत्र र विदेशमा स्वरोजगारमा रहेका नागरिक सामाजिक सुरक्षाको दायरामा समेटिने बताए।विप्रेषणलाई वैधानिक बाटोबाट भित्र्याउन पनि यो योजनाले सघाउने उनको विश्वास छ। 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम शक्तिको ठूलो हिस्सालाई यस योजनाले समेट्ने बताए। योजनाबाट लाखांै श्रमिक र आश्रित परिवार लाभान्वित हुने जनाउँदै उनले अप्ठेरो पर्दा सामाजिक सुरक्षा योजनाले राहत दिने विश्वास व्यक्त गरे। 

सामाजिक सुरक्षा कोषमा संकलन हुने योगदान रकमबाट आन्तरिक पुँजी परिचालन गरी आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै अहिलेको तरलता संकटको समस्या गर्न सहयोग पुग्नेमा उनको विश्वास छ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष रविना थापाले श्रमिकको सुरक्षाका लागि ल्याइएको कार्यक्रम महत्त्वपूर्ण रहेको बताइन्। एनआरएनएका अर्का अध्यक्ष कुल आचार्यले वैदेशिक क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएपछि मलेसिया, मध्यपूर्वमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने जानकारी दिए। 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का महासचिव चिरागमानसिंह कुँवरले अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन विशेष पहल गर्नुपर्ने बताए। 

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आगामी १ वैशाखदेखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताए।

प्रकाशित: Mar 22, 2023| 14:12 बुधबार, चैत ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्