बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एडीबी र प्राधिकरण नेतृत्वद्वारा तनहुँ जलविद्युत् आयोजना अनुगमन

एडीबी र प्राधिकरण नेतृत्वद्वारा तनहुँ जलविद्युत् आयोजना अनुगमन

एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतको उच्चस्तरीय टोलीले आयोजनाको बाँध, भूमिगत विद्युत्गृह, मुख्य सुरुङलगायत संरचना निर्माणको अनुगमन गरेको हो। 
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ।

एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध, भूमिगत विद्युत्गृह, मुख्य सुरुङलगायत संरचना निर्माणको अनुगमन गरेको हो। 

टोलीले आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवक्र्स), दोस्रो प्याकेज–२ (विद्युत्गृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरण) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२० केभी प्रसारण लाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदातासँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्यालगायत विषयमा विस्तृत रुपमा छलफल गरेको थियो।

निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ। आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ।

आयोजनाको सहुलियतपूर्ण ऋण प्रवाह गरेको एडिबीको नेपाल आवासीय नियोग निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए। ‘मुख्य रुपमा प्याकेज–१ को निर्माण महत्त्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकाले निर्माणविधिमा ध्यान दिई उपकरण तथा जनशक्ति थप गर्न आवश्यक देखिन्छ’, उनले भने। 

Metro Mart
worldlink

प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजना प्रवद्र्धक तनहुँ हाइड्रोपावरका अध्यक्ष घिसिङले आयोजना निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकाले सोही लक्ष्यलाई पूरा गर्ने गरी काम गर्न निर्देशन दिए। 

‘बाँध निर्माणका लागि नदी फर्काउने तथा स्लोप कटान चुनौतीपूर्ण देखिन्छ। यसका लागि दक्ष जनशक्ति र उपकण थप गरी कामलाई तीव्रताका साथ अगाडि बढाउनुपर्छ। आयोजनबाट गर्नुपर्ने सहयोग र सहजीकरणमा हामी सधैं तयार छौं।’ 

तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए। आयोजनाको प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ दा कर्पोरेसन भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ। 

यसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि  नदी फर्काउन आवश्यक दुई वटा डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायत निर्माण कार्य भइरहेका छन्। ५३८.५ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२.५ मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२ को वारपार गरी (ब्रेक थ्रू) कंक्रिट लाइनिङको काम भइरहेको छ। 

प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन चीनले भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम गरिरहेको छ। विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ गरिरहेको छ। टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ। पेनस्टक पाइप जडान तथा सर्ज ट्याङ्क निर्माण जारी छ। १४५६ मिटर मुख्य सुरुङमध्ये ७९० मिटर खन्ने कार्य सम्पन्न भएको छ। 

प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ। प्रसारण लाइनका ९४ मध्ये ५१ वटा टावरको जग हालिएको छ। साथै, ३२ वटा टावर जडान कार्य, ०.९८८३ किमि तार तान्ने र ८ वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ। एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण कार्य र ६ स्थानमा जग हाल्ने कार्य भइरहेका छन्। 

आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

प्रकाशित: Mar 22, 2023| 13:17 बुधबार, चैत ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्