बन्दीपुर- बन्दीपुर गाउँपालिकामा रहेका करिब ४० घर भुजेलले बाँसबाट निर्मित सामग्री बिक्री गरेर आम्दानी गर्दै आएका छन।
बाँसबाट निर्मित परम्परागत घरायसी सामग्री बिक्री गरेर घरको दैनिकी धान्दै आएका उनीहरू पछिल्लो समय संकटमा पर्दै गएका छन्। बजारमा कच्चापदार्थ बाँस, दैनिक उपभोग्य सामग्री र यातायातको भाउ बढेपछि आफूहरूको आम्दानी खुम्चीएको ५३ वर्षीय चन्द्रबहादुर भुजेलले बताए।
‘बजारमा तेलदेखि चामलसम्मको मूल्य अकाशिएपछि बजार जान सकिने अवस्था छैन’, चन्द्रबहादुरले भने, ‘तर हाम्रो मूल्य भने पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ। मूल्य बढाउन खोजे कसैले पनि किन्दैनन्।’
आफूहरूले करिब १७ किलोमिटर टाडा पर्ने व्यास नगरपालिका-११ कमलबारीदेखि प्रतिघना बाँसको दुई सयदेखि दुई सय ५० रूपैयाँसम्म तिरेर ट्र्याक्टरमा हालेर ल्याउनुपर्ने अवस्था रहेपनि बजारमा सस्तोमा बाँसको सामग्री बिक्री गर्नुपर्दा पेसाप्रतिको मोह घट्दै गएको उनकाे भनाइ छ।
‘बाउबाजेको पालादेखि गरिँदै आएको भनेर यही पेसा अँगालियो’, चन्द्रबहादुरले भने, ‘बजारमा हामीले राखेको मूल्यमा कहिल्यै सामान बिक्री हुँदैन। हाम्रो सामान तर मूल्य ग्राहकको हुने गर्छ।’
आफूहरूले बाँसबाट बनाएको डालो, नाङ्लो, मान्द्रो र कुचोलगायतका सामग्री होलसेलमा खरिद गर्ने व्यापारीबाट झनै सास्ती पाउने गरेको २९ वर्षीया तारा भुजेलले बताइन्। आफूहरूले बनाएको कुचोलाई प्रतिवटा २० मा खरिद गरेर होलसेल व्यापारीले ५० देखि ७० सम्ममा ग्राहकलाई बिक्री गर्ने गरेको ताराको दुखेसो छ।
‘दिनभरि सामान बोकेर व्यापार गर्न पनि पहिले जस्तो सजिलो छैन’, ताराले भनिन्, ‘महँगोमा बाँस किनेर सस्तोमा सामान बेच्नुपर्दा पेसा धान्न धौधौ छ।’
बन्दीपुर गाउँपालिकाको कार्यालयमा गएर आफूहरूले निश्चित शुल्क लिएर बाँसका सामग्री बिक्री गर्ने व्यवस्था मिलाइदिन पटकपटक अनुरोध गरेको भएपनि सुनुवाइ नभएको ताराकाे भनाइ छ।
प्रतिघना बाँसबाट दुईरतीन वटा नाङ्लो तथा चार/पाँच वटा कुचो बन्छ। ती सामग्री बनाउन करिब दुई दिन लाग्ने भुजेलको भनाइ छ। आफूहरूले प्रतिनाङ्लोको तीन सय रूपैयाँ तोके पनि उक्त दरमा कसैले नकिन्दा सस्तोमा बेच्न बाध्य हुनुपरेको भुजेलको गुनासो छ।
‘हामीले महँगोमा बाँस खरिद गर्नुपर्दा पेसा संकटमा परेको छ’, स्थानीय ५५ वर्षीया हस्तबहादुर भुजेलले भने, ‘सस्तोमा बाँस खरिद गर्न पाए पो हाम्रो सामानको मूल्य पनि सस्तो नै पर्ने थियो। अहिले घाटाको व्यापार गर्नुपरेको छ।’
उनका अनुसार बाँसको सामग्री बनाउने परम्परागत पेसाप्रति युवापुस्ताको भने रुचि देखिँदैन। मेहनत बढी र फाइदा कम हुने पेसा भएकाले गाउँका युवाको रुचि वैदेशिक रोजगारीमा नै हुने गरेको हस्तबहादुरको भनाइ छ।
बाँसको सामान बिक्री गरेर दैनिक दुई/तीन सय रूपैयाँ पनि हात पार्न समस्या भएको उनले बताए। पुरुषसँगै भुजेल महिलाले पनि सँगै बाँसको काम गर्ने प्रचलन छ।
‘१५र१७ वर्ष पहिले सस्तो थियो। घरमै बसेर दुई चार रुपैयाँ खेलाउन पाइन्थ्यो’, हस्तबहादुरले भने, ‘तर अहिले कसैले कति पर्छ भनेर सोधे कति दिनुहुन्छ भन्नुपर्ने अवस्था छ। हाम्रो श्रमको मूल्य नै छैन। घाटाको व्यापार गर्दिन भनेर ३२ वर्षीय छोरा इन्द्रबहादुर पनि कतार हानियो।’
गाउँका करिब १२/१५ युवाले बाँसको परम्परागत सामग्री बनाउने पेसा छाडेर रोजगारीको क्रममा कतार, मलेसिया, साउदी र दुबईलगायत विभिन्न खाडी मुलुक गएको तथ्यांक आफूहरूसँग रहेको स्थानीयको भनाइ छ।
भुजेलको परम्परागत पेसा संरक्षणका लागि अनुदान दिने व्यवस्था गरे पनि फर्म दर्ता गर्नेबारेमा भुजेललाई जानकारी नहुँदा समस्या भएको बन्दीपुर गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले परम्परागत सामग्री बनाउने भुजेलको पेसा संरक्षणका लागि आफूहरूले विशेष कार्यक्रम नै बनाउन लागेको जानकारी दिए।
‘बजारमा बढ्दो महँगीले गर्दा भुजेलको परम्परागत पेसा संकटमा पर्दै गएको छ’, अध्यक्ष थापाले भने, त्यसको संरक्षणका लागि हामीले विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौँ।’