बुधबार, जेठ १, २०८२

वृद्धभत्ता पाउने उमेरमा नागरिकता 

 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

बझाङ- बझाङमा मानव बस्तीको अन्तिम गाउँ हुन साइपालका बलौडी र धुली। सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ।

नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ। नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो।

साइपाल गाउँपालिका-५ मा पर्ने बलौडीकी स्थानीय हुन केउडी बोहरा। उनीको उमेर एक हप्तापछि ठीक ६८ वर्ष पुग्दैछ। जन्मिएको ६७ वर्ष ११ महिना २१ दिन जन्मः २०१२ वैशाख १३ पछि उनी नेपालको आधिकारिक नागरिक बनिन्। तर केउडीलाई भने यो विषयमा जानकारी छैन।

शनिबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले केउडीलाई साइपालको धुलीमा पुगेर नागरिकता हातमा थमायो। उनीको भाइ गोमाले सनाखत गरे।

गोमाले २०६३ मा काँडा पुगेको घुम्ती शिविरबाट नागरिकता लिएकी रहिछन्। शिविरमा दिदीलाई नागरिकता दिनुपर्ने विषय न कसैले भन्यो, न गोमालाई नै जानकारी भयो। बोल्न नसक्नेदेखि सुस्त मनस्थितिकी बोहरालाई नागरिकता दिन्छन् या दिँदैनन् भन्ने गाउँमा कसैलाई थाहा भएन।

Metro Mart
worldlink

‘नागरिकता चाहिन्छ भन्ने नै थाहा भएन’,  गोमाले भनिन्, ‘कसुइखी पन नागरिकता चाँइदो भनी थाच्योइन (बलौडीमा मान्छे कसैलाई पनि नागरिकताको आवश्यकताबारे थाहा थिएन) सबैले पोर परार (केही वर्षअघि)मात्रै नागरिकता लिएका हुन्।’

गोमा पनि नागरिकता हुँदा-नहुँदाको अर्थ देख दिनन्। ‘डेढ दशकअघि नागरिकता लिएको हुँ’, गोमाले भनिन्, ‘यो कतै काम लागेको छैन। जतन गरेर राख्नु भन्नुभएको थियो, राखेकै छु। यसको अर्थ पनि बुझेको छैन।’

यति मात्रै होइन, गोमालाई बझाङी भाषासमेत आउँदैन। उनी आफ्नै गाउँमा बोलिने भाषा मात्रै बुझछिन्। साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङका अनुसार पहिले गोमाको श्रीमती र एक सन्तान पनि छन भन्ने सुनिन्थ्यो।

‘अहिले घरमा दिदीभाइ मात्रै रहेछन्। आयस्रोतविहीन, सहाराविहीन दिदीभाइलाई पालिकाबाट अब एकल पुरूष र वृद्धाभत्ता दिने तयारी गरेका छौँ’, उपाध्यक्ष तामाङले भने।

बलौडीकी खिन्तुरी बोहराले ५१ वर्ष भइन्। वीरजित बोहरा र बसनादेवी बोहराकी छोरी खिन्तुरीलाई पनि सोही दिन जिल्ला प्रशासन कार्यालय बझाङले नागरिकता दियो। मानसिक समस्याले ग्रसित खिन्तुरीलाई नागरिकता त के आफ्नो बारेमा समेत केही जानकारी छैन।

जन्मेको केही वर्षदेखि नै मानसिक समस्याबाट पीडित भएकी खिन्तुरीका पाँच दशक गाउँमा ओहोरदोहोर गर्दैमा बिते। ‘शनिबार नागरिकता दिने भनेर धुली माविमा ल्याउनु भनेका थियौँ’, साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले भने, ‘खिन्तुरी धुली माविबाट भाग्नुभएको रहेछ। पछि आफन्तले खोजेर ल्याए। रून थाल्नुभयो, सबैले सम्झायौँ र नागरिकता हातमा थम्यायौँ। हजार-बाह्र सय रुपैयाँ पनि दियौँ।’

खिन्तुरीले भने पैसाको कुनै मतलब गरिनन्, ‘उहाँलाई पैसा के हो भन्ने पनि थाहा रहेनछ। त्यसको आवश्यकताबारे झन् के थाहा हुनु?’ अध्यक्ष बोहराले भने।

बलौडीवासीले नागरिकता प्राप्त गरे पनि अधिकांशले त्यसको प्रयोग भने कतै गर्न पाएका छैनन्। सबलाङ्ग गोमाहरूका लागि पनि नागरिकता प्रयोगहीन भएको छ। गाउँमा राज्यको उपस्थिति नहुँदा गोमाहरू हरेक कुरामा अनभिज्ञ छन।

राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार-व्यवसाय गर्नेजस्ता कानुनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारको उपभोग गर्ने महत्वपूर्ण आधार हो नागरिकता। नागरिकताविहीनले भने केही गर्न सक्दैन।

‘धुली, बलौडीमा धेरैले नागरिकताको महत्वबारे बुझेकै छैनन्’, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘खिन्तुरी र केउडीले जीवनको उत्तराद्र्धनमा भएपनि नागरिकता प्राप्त गरे। अब यसको महत्वको विषय स्थानीय सरकारले प्रत्याभूत गराउनुपर्छ।’ नागरिकता भएपछि राज्यबाट पाउने सेवा सुविधा प्राप्त गर्ने आधार तयार भएको उनले बताए।

‘पहिलेको जसरी गाउँमै नागरिकता दिन घुम्ती शिविर ल्याउने सोच थियो’, प्रजिअ पाण्डेयले भने, ‘पहिलेको जस्तो हस्तलिखित नागरिकता छैन। डिजिटलमा गइसकेपछि इन्टरनेट, विद्युत् नभएको ठाउँमा कामै हुँदैन। दुई जनाको भने जिल्लाबाट सबै तयारी गरेर सनाखत गराउँदै नागरिकता दिएका हौँ।’

नेपालको संविधानको भाग २ को धारा १० को उपधारा (१) मै भनिएको छ, ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन।

धारा ११ को उपधारा (२) मा पनि संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको व्यक्ति वंशजका आधारमा नेपालको नागरिक ठहर्ने र नागरिकता दिने भनेको छ। तर साइपाल भने निकै टाढा हुँदा राज्य र जनताको दूरी झनै लामो भएको छ।

प्रकाशित: Mar 21, 2023| 21:46 मंगलबार, चैत ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्