काठमाडौं– बिमा व्यवसाय वृद्धिको पहिलो मेरुदण्ड बिमा अभिकर्ता भएको यस क्षेत्रका सरोकारवालाले बताएका छन्। सोमबार राष्ट्रिय बिमा संस्थानले आयोजना गरेको जीवन बिमा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रममा सहभागीले विश्वमै जीवन बिमा व्यवसाय अभिकर्ताबिना सम्भव नहुने बताएका हुन्।
अभिकर्ता व्यापारिक केन्द्र वा डिलर भएकाले बिमालेख वितरणको भरपर्दो ‘टेस्टेड’ माध्यम भएको उनीहरुको धारणा छ। नियामक निकाय वा बिमा प्राधिकरणले अभिकर्ताको व्यवसायलाई बढावा दिन सके बजार विस्तार सहज हुने उनीहरुले दाबी गरे।
कार्यक्रममा जीवन बिमा र व्यावसायिक सफलता विषयक प्रस्तुति दिँदै प्राइम लाइफका पूर्वसीईओ मनोजकुमार भट्टराईले बिमा कम्पनीका तर्फबाट अभिकर्ता नै ग्राहकसँग पहिलो साक्षत्कार गर्ने पहिलो ‘अन्डरराइटर’ भएको बताए।
उनले भने, ‘ग्राहक आफैं कम्पनीमा नगन्य मात्रामा आउँछन् तर अभिकर्ताले तिनको विश्वासमा ग्राहक तान्छन्। अभिकर्ताकै विश्वासमा ग्राहक आकर्षित हुन्छन् र बिमाको व्यापार बढ्छ। यसकारण अभिकर्ता बिमा व्यवसायका मेरुदण्ड हुन्।’
संस्थानका प्रशासक कविप्रसाद पाठकले व्यवसायलाई कसरी स्वस्थ ढंगले अगाडि बढाउने भन्नेमा अभिकर्ताको भूमिकाको चर्चा गर्दै अभिकर्ता पेसालाई व्यावसायिक बनाउँदै जीवन स्तरमा सकारात्मक परिवर्तन गर्ने र व्यवसाय प्रवद्र्धन गर्दै लैजाने नीतिअनुरुप कम्पनीले यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए।
अभिकर्ताको मनोबल उच्च बनाई थप उत्प्रेरित र जवाफदेही बनाउने, कर्मचारी र अभिकर्ताबीच पारस्परिक सहयोग र सहकार्यको वातावरण निर्माण गरी पबमा व्यवसायको विकास अनि विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।
कम्पनीका शाखा तथा बजार व्यवस्थापन विभागमा प्रमुख दीपा अधिकारीले बीमा क्षेत्रको विद्यमान अवस्था र संस्थानको विद्यमान अवस्थाबारे प्रस्तुति दिइन्।
संस्थानका वरिष्ठ अभिकर्का हरिशरण शिवाकोटीले अहिले बजारलाई आवश्यक भइरहेको दक्ष अभिकर्ताको उत्पादन गर्न आवश्यक भएकाले सरकार, बिमा प्राधिकरण, बिमा कम्पनी, बीमित तथा अभिकर्ता सबैले ध्यान दिनुपर्ने बेला आएको धारणा व्यक्त गरे।
अभिकर्ताले गर्ने बजारीकरणले घर–घरबाटै बिमा गराउने बीमित बढ्ने र यसले बिमाको पहुँचसमेत वृद्धि गर्न सघाउने उनको दाबी छ। कार्यक्रममा संस्थानका सहायक प्रशासक कृष्णकुमार श्रेष्ठ, नायब महाप्रबन्धक महेश रिमालसमेत करिब ८० उपस्थित थिए।