बिहीबार, वैशाख १८, २०८२

गभर्नरको सुझाव- बचत अनिवार्य गर्नुस्

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं-  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन्। सोमबार राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह २०२३ उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

नेपालमा बचत गर्ने भन्दा पनि बढी खर्च गर्ने प्रवृत्ति रहेको उनले बताए। मुद्रा बचत गर्न जरुरी रहेको भन्दै उनले बचतबाट नै आम्दानी बढ्ने दाबी गरे। गभर्नर अधिकारीले मानिसहरूसँग भएको रकम बचत नगरे पनि खर्च हुने भएको भन्दै बचत गर्नु अनिवार्य रहेको सुझाव दिए।

राष्ट्रिय बचतको अनुपातका आधारमा हेर्दा बचतको दर कमजोर रहेको उनले जानकारी दिए। गभर्नर अधिकारीले सेयरमा लगानी गर्नु पनि बचत भएको भन्दै सेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्न सक्ने बताए। उनले नेपालका बैंक तथा वित्तीय संस्थाहरूका बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेको समेत बताए। 

गभर्नरले भने, ‘२०५२ सालमा कुनै कम्पनीको मूल्यांकन विश्लेषणको लागि लिएको १० कित्ता सेयरले अहिले लाखौंको सम्पत्ति बनाइदिएको छ। हामीले गरेको बचतको ब्याजदर राम्रो छ। १० वर्षमा दोब्बर हुने खालका रेटहरु छन्। त्यो बचतले काम गर्छ, त्यसैले बचत अत्यन्तै जरुरी छ। त्यो रकम कतै बचत नगरे पनि खर्च भएर जान्छ। नेपाल समग्रमा कम बचत गर्ने देशमा पर्छ।’

'आफ्नो पैसाको योजना बनाउनुस्, आफ्नो भविष्य बनाउनुस्' भन्ने नारासहित सोमबारदेखि ग्लोबल मनी विक २०२३ सुरु भएको छ। ग्लोबल मनी विकको यो एघारौं संस्करण हो। नेपाल राष्ट्र बैंकले अभियानको पहिलो दिन उपत्यकास्थित विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागितामा कार्यक्रम गरेको छ। चैत १२ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन हुनेछन्। बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन्। 

Metro Mart
worldlink

प्रकाशित: Mar 20, 2023| 13:49 सोमबार, चैत ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्