बिहीबार, जेठ २, २०८२

रवि लामिछानेविरुद्ध राहदानीको मुद्दा नचल्ने

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा मुद्दा चलाउनु नपर्ने ठहर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गरेको छ। लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गर्दै उच्च सरकारी वकिलको कार्यालय पाटनमा पत्र पठाइएको छ।

गएको बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। लामिछानेले आफू अमेरिकी नागरिक रहँदै नेपाली राहदानी लिए पनि त्यसको दुरुपयोग नगरेको जिकिर गरेको प्रतिवेदनमा उल्लेख छ।

लामिछानेले अमेरिकी नागरिक रहँदै नेपाली राहदानी लिनुमा कुनै बदनियत नरहेको प्रतिवेदनमा जिकिर गरिएको छ। सोही आधारमा प्रहरीले लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा कुनै मुद्दा दायर गर्नु नपर्ने ठहर गरेको हो।

अब उच्च सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने/नचलाउने निर्णय गर्नेछ। मुद्दा चलाउनुपर्ने निर्णय भएमा उच्चले जिल्ला सरकारी वकिललाई अभियोग दायर गर्न निर्देशन दिन भने सक्छ।

मुद्दा चलाउनुपर्ने नदेखिएमा उच्चले महान्यायाधिवक्ता कार्यालयलाई जानकारी गराउनुपर्छ। महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिललाई मुद्दा चलाउने वा नचलाउने आवश्यक निर्देशन दिन सक्छ।

Metro Mart
worldlink

०५० फागुन १० गते नेपाली नागरिकता प्राप्त गरेका लामिछानेले अमेरिका प्रस्थान गरेपछि ०७० फागुन ९ गते त्यहाँको नागरिकता प्राप्त गरेका थिए। त्यसपछि लामिछानेको नेपाली नागरिकता कायम थिएन। तर, उनी पारिवारिक भिसामा नेपाल आउँदा कायमै नरहेको नेपाली नागरिकताबाट ०७२ जेठ १३ गते नेपाली राहादानी प्राप्त गरेका थिए।

सर्वोच्च अदालतको संवैधानिक इजलासले हालै नागरिकता नै प्राप्त नगरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेको सांसद पद खारेज गरिदिएको थियो।

सांसद नरहेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको थियो। सोही रिटमा सर्वोच्चले लामिछानेले नेपाली नागरिक नरहँदा नेपाली राहदानी लिएको विषय निर्विवादित रहेको तर त्यसमा आफ्नो क्षेत्राधिकार नहुने फैसला गरेको थियो।
 

प्रकाशित: Mar 19, 2023| 13:40 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्