बिहीबार, जेठ २, २०८२

लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या

 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

रुपन्देही- लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन्। अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो।

अखिल नेपाल भिक्षु महासङ्घका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चिवर प्रदान गरे। अल्पकालीन भिक्षुले पहेँलो चिवर लगाएर बुद्ध धर्मका एक सय नियम पालना गर्नुपर्नेछ। 

सामान्य अनुयायीले पञ्चशिल र अष्टशिलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्णरूपमा बौद्ध नियममा आफूलाई रुपान्तरण गर्नुपर्नेछ। चैत १७ गते अल्पकालीन भिक्षुको समय सकिनेछ।

फागुन २७ गते काठमाडौँ र फागुन २८ गते लुम्बिनीमा गरी पाँच सय भिक्षुको केश मुन्डन गरिएको थियो। केश मुन्डन गरिए पनि बिहीबार मात्रै प्रव्रज्या गरी अल्पकालीन भिक्षुका रूपमा पहेँलो चिवर प्रदान गरिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए। चिवर प्रदान एंव कुलपुत्र प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सबैले बुद्धको शिक्षा ग्रहण गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा अखिल नेपाल भिक्षु सङ्घका महास्थविर शोभनले बुद्ध शिक्षालाई व्यवहारमा उतार्न आग्रह गरेका थिए। कोरोना महामारीका कारण तीन वर्षसम्म प्रव्रज्या कार्यक्रम स्थगित भएको थियो।

Metro Mart
worldlink

यसअघि सन् २०११ मा एक हजार, सन् २०१५ मा एक हजार एक सय १२ र सन् २०१९ मा एक हजार एक सय १९ जनालाई प्रव्रज्या गराइएको थियो।

प्रकाशित: Mar 17, 2023| 19:45 शुक्रबार, चैत ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्