बागलुङ- ढोरपाटन नगरपालिका–९ मा पर्ने ढोरपाटनको प्रवेशद्वारका रुपमा बुर्तिवाङ बजारलाई लिइन्छ। पर्यटकीय राजधानी पोखरादेखि बागलुङ हुँदै बुर्तिबाङसम्म पक्की सडकमा यात्रा गर्न पाइए पनि ढोरपाटनसम्म पुग्न सकस हुन्छ।
राष्ट्रिय प्राथमिकताको आयोजना सालझन्डी–ढोरपाटन सडक बुर्तिवाङदेखि ढोरपाटन उपत्यकासम्मको स्तरोन्नति चलिरहे पनि अपेक्षित गतिमा काम हुन सकेको छैन।
कच्ची सडकले भए पनि ढोरपाटन जोडिएपछि स्थानीय र आगन्तुकलाई केही सहज भने भएकै छ। एक दशक अगाडिसम्म सडकले नजोडिँदा यहाँका स्थानीयवासी निकै सास्ती खेप्न बाध्य थिए। स्थानीय ६८ वर्षीय गोकुल अदैले सडकले ढोरपाटन जोडिएपछि यहाँको नागरिकको जीवनशैली र दैनिकी नै बदलिएको बताए।
खासगरी घुम्ती बसाइँ गर्ने यहाँका स्थानीय वर्षायाममा ढोरपाटन र हिउँदमा बोबाङ, अधिकारीचौरतिर झर्ने गर्छन्। यसरी घुम्ती बसाइँ गर्दा सामान ओसारपसार गर्दा निकै सास्ती खेपेको अदैको भनाइ छ। सडक सञ्चालनमा आएपछि भारी बोकेर ओसारपसारमा समस्या छैन।