सोमबार, साउन १३, २०८२

जहाँ पाटेबाघको झुण्डै देख्न पाइन्छ

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघको प्रमुख बासस्थानका रूपमा प्रख्यात रहेको छ।

पाटेबाघका लागि थोरै क्षेत्रफल भएपनि यहाँ ३६ बाघ रहेका छन्। विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात हुन थालेको छ।

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थान लगायतले गर्दा बाघको संख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्जका संरक्षण सहायक अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जभन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताए। ‘शुक्लाफाँटा बाघको राम्रो बासस्थान बनेको छ’, सहायक अधिकृत ऐरले भनिन्, ‘यहाँ बाघको आहाराका प्रजाति धेरै हुनुले पनि बाघको संख्या बढेको हो।’

उनले शुक्लाफाँटाभित्र रहेको ठूलो घाँसेमैदान, तालतलैया र बाघका लागि प्रशस्त आहारा प्रजाति रहेको जानकारी दिए। शुक्लाफाँटामा बाघको प्रमुख आहारा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन।

‘निकुञ्जभित्र प्राकृतिक ताल र तीन ठूला नदी छन’, सहायक संरक्षण अधिकृत ऐरले भने, ‘यो बाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम तालसमेत बनाएको छ, त्यसले गर्दा वन्यजन्तुलाई प्यास मेटाउन सहज भएको छ।’

निकुञ्ज क्षेत्रमा चौधर नदी, स्याली नदी र महाकाली नदी रहेका छन। चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख नदी रहेको निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिको पनि संरक्षणले चोरीसिकारी शून्य भएका कारण पनि बाघको संख्यामा वृद्धि भएको हो।

२०१३ को गणनाअनुसार १७ बाघ रहेको यस निकुञ्जमा २०२२ को गणनामा संख्या ३६ पुगेको हो। निकुञ्जको वरिपरि मानव बस्ती भएपनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जमा २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ।

प्रकाशित: Mar 16, 2023| 03:33 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्