शनिबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • डेढ खर्ब नाघ्यो बजेट घाटा, पुँजीगत खर्च २२ प्रतिशत मात्रै

डेढ खर्ब नाघ्यो बजेट घाटा, पुँजीगत खर्च २२ प्रतिशत मात्रै

सरकारले फागुन मसान्तसम्म ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्चिंदा राजस्व संकलन ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं– चालू आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा १ खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ। फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व संकलन ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आवको फागुन मसान्तसम्मको राजस्व संकलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको हो। यो अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४२.७ प्रतिशत छ भने बजेट खर्च ४३.४४ प्रतिशत छ।

चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो। तर लक्ष्यअनुसार राजस्व नउठेको भन्दै अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १४ प्रतिशत अर्थात् २ खर्ब ४४ अर्बले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ। 

सुरुआती विनियोजित बजेटको तुलनामा आठ महिनाको बजेट खर्च ४३.४४ प्रतिशत मात्रै छ। अर्थात् फागुन मसान्तसम्म सरकारले कुल ७ खर्ब ७९ अर्ब २३ करोड बजेट खर्च गरेको छ।

यस अवधिमा सरकारको चालु खर्च ५१.४६, पुँजीगत खर्च २२.१५ र वित्तीय व्यवस्थातर्फको खर्च ३७.४१ प्रतिशत छ। चालूगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बराबर वार्षिक विनियोजन रहेकामा हालसम्म ६ खर्ब ८ अर्ब ८४ करोड ४५ लाख बराबर छ।

त्यस्तै, पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख वार्षिक विनियोजन रहेकामा २२.१५ प्रतिशत अर्थात् ८४ अर्ब २५ करोड ६० लाख बराबर मात्रै खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख वार्षिक बजेट छुट्याइएकामा फागुन मसान्तसम्म ८६ अर्ब १२ करोड ९६ लाख खर्च भएको छ।

महालेखाको तथ्यांक हेर्दा आठ महिने अवधिमा पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थातर्फको खर्च बढी छ। फागुन मसान्तसम्म सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४२.७ प्रतिशत बराबर मात्रै छ।

चालू आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख राजस्व उठाउने लक्ष्य राखेकामा हालसम्म ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै असुली भएको छ। यसमध्ये आन्तरिक राजस्व संकलन ४१.५३ प्रतिशत अर्थात् ५ खर्ब ८२ अर्ब ७७ लाख १५ हजार रहेको छ। 

यस वर्ष ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक सहायता लिने सरकारको लक्ष्य रहेकामा हालसम्म ८.६६ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड २० लाख बराबर मात्रै वैदेशिक सहायता भित्रिएको छ।

प्रकाशित: Mar 15, 2023| 14:31 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्