काठमाडौं- लागूऔषधसहित प्रहरीले मोरङबाट दुई जनालाई पक्राउ गरेको छ।
मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट लागूऔषध खैरो हेरोइन ८ ग्राम ७८ मिलिग्रामसहित दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ३० वर्षीय जंगमनी मगरसहित दुई जना रहेका छन्।
मंगलबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२७ प ८८९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकीको कभरको भित्री भागमा लुकाई ल्याएको उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको छ।