शुक्रबार, वैशाख १९, २०८२

निर्वाचनको संघारमा उद्योग वाणिज्य महासंघ

उद्योगी–व्यवसायीलाई छोप्यो चुनावले

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनको संघारमा छ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको साधारणसभा यही चैत २८ र २९ गते हुने तय छ।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं- निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनको संघारमा छ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको साधारणसभा यही चैत २८ र २९ गते हुने तय छ। सोही साधारणसभाले नयाँ नेतृत्वको कार्यसमिति चयन गर्नेछ। अहिले वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल साधारणसभापछि स्वतः अध्यक्ष हुनेछन्।

साधारणसभा सुरु हुन चार साता बाँकी रहँदा उद्योगी व्यापारीहरुलाई चुनावले छपक्कै छोपिसकेको छ। आकांक्षीहरुले देशव्यापी रुपमा चुनावी अभियान अघि बढाएका छन्। आफ्ना एजेन्डा प्रस्तुत गर्दै मतदाता आफ्नो पक्षमा पार्न विभिन्न कार्यक्रम गरिरहेका छन्। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका कारण महासंघको निर्वाचनमा यही वरिष्ठ उपाध्यक्षका लागि सबैभन्दा धेरै चासो छ। 

महासंघमा वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, रामचन्द्र संघई, दिनेश श्रेष्ठ र उमेशलाल श्रेष्ठ भिड्ने तयारीमा छन्। अञ्जन, रामचन्द्र र दिनेश हालका उपाध्यक्ष हुन् भने उमेशलाल पूर्वउपाध्यक्ष। अञ्जनले मंगलबार बेलुका प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। अञ्जनको समूहबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, एसोसिएट समूहबाट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत समूहबाट उपाध्यक्षमा मनिषलाल प्रधान उम्मेदवार हुने भएका छन्।

बदलिँदो व्यावसायिक वातावरणमा महासंघको सशक्त भूमिकाका लागि आफूले पहल गर्ने अञ्जन बताउँछन्। उनले आफ्नो अनुभव र व्यावसायिक योग्यता तथा व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता नै जितको मुख्य आधार रहेको बताए। महासंघमा झन्डै आधा दर्जन अध्यक्षसँग नजिक रहेर काम गरिसकेको तथा देशभरका उद्योग वाणिज्य संघहरु एवं वस्तुगत र एसोसिएट क्षेत्रसँग समन्वय र सहकार्य गरिरहेको आधारमा आफूले जित्ने उनको विश्वास छ। 

वरिष्ठ उपाध्यक्षका अन्य तीन आकांक्षीले उम्मेदवारी घोषणा गरिसकेका छैनन्, तर आन्तरिक तयारी भने तीव्र पारेका छन्। 

Metro Mart
worldlink

रामचन्द्र संघई समूहबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, एसोसिएट समूहमा भरतराज आचार्य तथा वस्तुगत समूहमा सन्दीप अग्रवालको चर्चा छ। यद्यपि, जिल्ला नगर उपाध्यक्षमा नरेन्द्रकुमार खड्का र वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचनको सम्भावना रहेको पनि छ। 

यस्तै, उमेशलाल श्रेष्ठको समूहबाट उपाध्यक्षमा हेमराज ढकालको उम्मेदवारी निश्चित भए पनि अन्य उपाध्यक्षको टिम बनाउन बाँकी नै छ। 

वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी दिनेश श्रेष्ठले भने आफू कुनै प्यानल नबनाई प्रतिस्पर्धामा जाने बताएका छन्। श्रेष्ठले आफूलाई देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको समर्थन रहेको र साना मझौला व्यवसायीका समस्याका विषयमा बारम्बार आवाज उठाइरहेकाले जितमा ढुक्क रहेको बताए। उनले बैंकको चर्को ब्याजदरका विषयमा आफूले वर्षौंदेखि उठाइरहेको मुद्दा अहिले राष्ट्रिय महत्वको विषय बनेको र यसलाई निष्कर्षमा पु¥याउन पनि आफू उम्मेदवार बन्नैपर्ने अवस्था रहेको तर्क गरे।

15733476961678849403.jpg

संघईले आफूले महासंघमा दुई दशकदेखि अनवरत सहभागिता जनाउँदै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा आफू जित्नेमा ढुक्क रहेको बताएका छन्। त्रिवेणी ग्रुपका सञ्चालक रहेका उनी आफू व्यवसायीको समस्या बुझ्ने भएकाले सबैको विश्वासका साथ अघि बढ्ने बताउँछन्। उनले निर्वाचनका लागि आफू विभिन्न जिल्ला पुगेको बताउँदै व्यवसायीको समर्थनले उत्साहित भएको सुनाए। 

महासंघको आगामी ५७ औं साधारणसभाले वरिष्ठ उपाध्यक्षसहित ६४ सदस्यीय कार्यसमिति निर्वाचन गर्नेछ। यसमध्ये जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट क्षेत्रको प्रतिनिधित्व गर्ने तीन उपाध्यक्ष रहने छन्। सदस्य मध्येबाट कोषाध्यक्ष चयन हुने व्यवस्था छ भने कार्यकारिणी समितिले विशिष्ट सदस्य मनोनित गर्न सक्ने व्यवस्था छ।  

खुलेका छैनन् ढकाल

महासंघमा वरिष्ठ उपाध्यक्षका चारजना प्रतिस्पर्धी नै अध्यक्ष बन्न लागेका चन्द्र ढकालको समर्थनका लागि प्रयासरत छन्। उनको समर्थनले महासंघ निर्वाचनमा ठूलो प्रभाव पार्छ। उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईले अघिल्लो निर्वाचनमा ढकालकै प्यानलबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए भने दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठ अर्को प्यानलबाट प्रतिस्पर्धा गरे पनि ढकालसँग निकटता बढाउन खोजिरहेका छन्। तर, ढकालले भने आफ्ना लागि सबै उम्मेदवार बराबर रहेको भन्दै कुनैको पक्षमा पनि नखुल्ने बताएका छन्।

महासंघको चुनावमा राजनीतिक दलको समर्थनसमेत अप्रत्यक्ष रूपमा देखिँदै आएको छ । उम्मेदवारहरूले अहिलेदेखि नै राजनीतिक दलका नेता गुहार्न थालिसकेका छन्। राजनीतिक सत्ता समीकरणले पनि महासंघको चुनावलाई प्रभाव पार्ने जानकारहरु बताउँछन्।

मनोनयन शुल्क पाँच लाख

वरिष्ठ उपाध्यक्ष पदका लागि पाँच लाख रुपैयाँ मनोनयन शुल्क लाग्छ । त्यस्तै, उपाध्यक्षका लागि तीन लाख र कार्यकारिणी समिति सदस्य पदका लागि ७५ हजार रुपैयाँ शुल्क लाग्ने महासंघ सचिवालयले जनाएको छ ।   

प्रकाशित: Mar 15, 2023| 08:45 बुधबार, चैत १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्