सप्तरी– बालिका बलात्कार अभियुक्तलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ। दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई जन्मकैदको सजाय सुनाइएको हो।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मंगलबार अभियुक्तलाई जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए।
अभियुक्तले बालिकालाई २०७८ फागुन २२ गते दिउँसो बलात्कार गरेका थिए। पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा घटनाकै दिन उजुरी दिएकी थिइन्।
बुबाआमा ज्याला मजदुरीका लागि घरबाहिर गएको मौका छोपी आरोपितले ललाइफकाई शरीर बन्धक बनाई घरदेखि पश्चिम रहेको पोखरीको डिलमुनि लगेर बलात्कार गरेको पीडितले बयान दिएकी थिइन्।
इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितलाई २०७८ फागुन २२ गते नै पक्राउ गरेको थियो । जिल्ला अदालतमा २०७८ चैत १७ गते अभियोजनपत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रमेश पोखरेलको आदेशमा आरोपित २०७८ चैत २० गतेदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।