काठमाडौं- देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ। केही प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षाको सम्भावना रहेको हो।
जल तथा मौसम विज्ञान विधागका अनुसार आज बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहको छ। अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ।
विभागले आज दिउँसो पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली रहने बताएको छ। बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ। अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। “काठमाडौंमा आज बिहान मौसम सफा रहे पनि अपराह्नपछि भने मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ,” मौसमविद् श्रेष्ठले भने, “ठूलो पानी पर्ने सम्भावना भने छैन। केही समय वर्षा भएर रोकिनेछ।”
विभागका अनुसार आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
नेपालमा अहिले स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ।