शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • चीनबाट प्रतिबद्धताअनुसारको लगानी नआउनुमा हामी नै दोषी : प्रधानमन्त्री प्रचण्ड

चीनबाट प्रतिबद्धताअनुसारको लगानी नआउनुमा हामी नै दोषी : प्रधानमन्त्री प्रचण्ड

नेपाललाई पूर्वाधार विकासका लागि ठूलो लगानी र नयाँ–नयाँ प्रविधि आवश्यक रहेकाले चीनबाट सहयोगको अपेक्षा गरिएको प्रधानमन्त्री प्रचण्डको धारणा।
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समयमा चीनले प्रतिबद्धता गरेअनुसार लगानी आउन नसक्नुमा नेपाल सरकारकै नीति मुख्य कारण रहेको औंल्याएका छन्।

मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्तालाई सबै प्रकारका सेवा एकै ठाउँबाट पाउने वातावरण मिलाउने गरी एकल बिन्दु सेवा सुचारु गरिने घोषणा गरे। पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधि आवश्यक रहेकाले चीनबाट सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ।

विदेशी लगानीकर्ताको समस्या समाधानका लागि सरकारले एकल बिन्दु सेवा सुुरु गर्ने विषयमा कानुन बनाएर संसद्बाट पारित गर्ने क्रममा रहेको उनले बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ–नयाँ प्रविधि आवश्यक छ। चीनले नेपालको आवश्यकता पूरा गर्न सहयोग गर्नेछ भन्ने विश्वास छ। दुई देशबीचको व्यावसायिक सम्भावना खोज्न र उजागर गर्न निजी क्षेत्रको भूमिका प्रशंसनीय रहँदै आएको छ।’

चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन विश्वास उनले व्यक्त गरे। उनले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधी, तरकारी, चिया, मासुलगायत उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थाका लागि चीन सरकारसँग आग्रह गरे।

Metro Mart
worldlink

‘चीन सरकारले पछिल्लो समय पर्यटकका लागि खुला गरेको छ भने आफ्ना देशका नागरिकलाई पनि विदेश जाने अनुमति दिएको छ। हामी छिमेकी भएकाले र प्राकृतिक रुपमा पनि नेपाल सुन्दर देश भएकाले नेपालमा चिनियाँ पर्यटकको स्वागतका लागि तयार छौं,’ उनले भने। 

कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल–चीनको सम्बन्ध विस्तार हुँदै आएकाले आगामी दिनमा त्यसलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताए।

उपाध्यक्ष साओहाङले चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रुपमा राखेकाले चिनियाँ नागरिक यहाँ घुम्न आउँदा अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरे। आफूहरू नेपालमा लगानी र सहकार्यका लागि नयाँ क्षेत्र पहिचान गर्ने काममा लागेको उनको भनाइ छ। उपाध्यक्ष साओहाङले नेपालसँग स्वच्छ ऊर्जा, प्रविधि र विद्युत् क्षेत्रमा सहकार्य गर्ने सोच रहेको जानकारी दिए।

नेपालका लागि चीनका राजदूत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘दुई छिमेकी चीन र नेपालबीच जनस्तरको सम्बन्धलाई बलियो बनाउनुपर्छ। दुई देशको व्यापारलाई बढाउँदै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन जरुरी छ। जलविद्युत्, ट्रान्समिसन लाइन, भौतिक पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहयोग गर्ने सोच बनाएका छौं।’

नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णुप्रसाद अग्रवालले नेपाली सीमानाका खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गरिदिन चीन सरकारसमक्ष आग्रह गरे। नेपाल र चीनका व्यवसायीबीच करिव ४ वर्षपछि छलफल भएको हो। बैठकमा सहभागिता जनाउन सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ।

प्रकाशित: Mar 14, 2023| 12:56 मंगलबार, फागुन ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्