शनिबार, असार ७, २०८२

प्रकृति स्वच्दताको सारथि गिद्ध संकटमा

बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन्।
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं- गिद्ध र प्राकृतिक स्वच्दताको साइनो गहिरो छ। सिकारी चरा समूहअन्तर्गत पर्छ गिद्ध। यो ठूलो मांसाहारी पन्छी हो। यसले सिनो खाएर वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउँछ। तर, पछिल्लो समय सिमल प्रजातिको वनस्पति मासिँदै गएसँगै र सिनोको अभाव हुँदै जाँदा गिद्ध संकटमा परेको छ।

वि.सं. २०६४ मा वन मन्त्रालयले सिमल कटानमा फुकुवा गर्‍यो। सिमल गिद्धका लागि उपयुक्त बासस्थान हो। सिमल कटान फुकुवा भएसँगै सिमलका रुख घट्दै गए। बासस्थान नै संकटमा परेपछि गिद्ध पनि संकटमा पर्दै गयो। कुनै बेला सुदूरपश्चिम पनि गिद्धका लागि उपयुक्त बासस्थान थियो।

बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन्। बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध सङ्कटमा परेका हुन्।

पाटन नगरपालिका–८ सिद्धनाथधाम क्षेत्र, पाटन–३, ४, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र पुर्चौडी नगरपालिकाका केही क्षेत्रलाई गिद्धको मुख्य तथा उपयुक्त बासस्थानका रूपमा लिइन्छ। पछिल्लो समय मुख्य बासस्थान क्षेत्रमै गिद्ध देखिन छाडेका नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए। विभिन्न अध्ययन तथा अनुसन्धानका अनुसार पछिल्लो केही समययता गिद्ध मुख्य बासस्थानमै देखिने छाडेका छन्। 

उनले भने, 'अतिसङ्कटापन्न सूचीमा रहेको गिद्धको संरक्षण हुन नसक्दा संकटमा परेका छन्, केही वर्षयता गिद्ध कम सङ्ख्यामा देखिन थालेका छन्, पहाडी क्षेत्रमा गिद्ध सङ्कटमा पर्नु आगलागी र आहारा अभाव मुख्य कारण हो।'

फागुनदेखि जेठसम्म प्रजनन गराउने समय रहेकाले यही समयमा आगलागीका घटना बढ्ने गरेकाले गिद्ध लोप हुँदै गएको डगौराको अनुभव छ। 'प्रजनन समयमा आगलागीका घटना बढी हुने गरेकाले गिद्ध  सङ्कटमा परेका छन्, आहार र बासस्थानको कमी भएपछि पलायन हुने गर्दछन्,' उनी भन्छन्।  प्रायः सिमलको रुखमा गुँड बनाउने गिद्धका लागि गुँड बनाउने ठुल्ठूला रुख नभएकाले लोप हुँदै गएको बताइन्छ।

पछिल्लो समयमा डाइक्लोफेनेकसँगै किटोप्रोफेन, निमुस्लाइड (जनावरमा दुखाइ कम गर्ने औषधि) जस्ता औषधिको प्रयोगले पनि गिद्धको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउँदा पनि गिद्ध संरक्षणमा चुनौती थपिएको चराविज्ञ बताउँछन्। साथसाथै आहाराको खोजीमा रहेका गिद्ध हाइटेन्सन विद्युत् लाइनमा ठोक्किएर मर्ने गरेका डगौराको भनाइ छ।

चरा विज्ञका अनुसार बैतडीमा हिमाली, हाडफोर, गोब्रे (सेतो गिद्ध), राजगिद्ध, सुनगिद्ध, डङर तथा सानो खैरो गिद्ध पाइन्छन्। गिद्ध आफैँले सिकार नगरीकन मरेका जनावर तथा सिनो खाने गर्दछन्। उनीहरूले फोहर तथा हानिकारक मासुजन्य सिनो खाएर वातावरणलाई प्रदूषित बनाउनबाट जोगाउने गरेका छन्। गिद्धमा हानिकारक तत्वलाई पचाउन सक्ने क्षमता हुने भएकाले वातारवरणलाई स्वच्छ राख्न उनीहरूबाट मद्दत पुगेको हो। 

गिद्ध संरक्षणका लागि तीनवटै तहका सरकारले कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक छ। सरकारले गिद्ध संरक्षणका लागि छुट्टै कार्यक्रम सञ्चालन नगरेकाले पनि यस्तो समस्या आएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए। उनले भने, 'पर्यावरण जोगाउन गिद्धको ठूलो भूमिका छ, गिद्ध संरक्षणका लागि सरकारले ठोस कार्यक्रम ल्याउन सकेको छैन।'

संरक्षणका लागि पहल हुनसके गिद्ध लोप हुने दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरी बताउँछन्। उनले भने, 'गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ, यसका लागि गिद्धको संरक्षण आवश्यक छ।' गिद्ध संरक्षण गर्न वन कार्यालयले सिमलको रुख कटानीमा रोक लगाई नयाँ वृक्षारोपणको अभियानमा सिमललाई प्राथमिकता दिनुपर्नेमा गिरीको जोड छ।
  
चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठूलै भूमिका भएको पक्षी हो। यसको ठूलो धार्मिक महत्व पनि छ। गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ। धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ। - रासस

प्रकाशित: Mar 14, 2023| 10:34 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्