काठमाडौं- काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने दुई सरकारीसहित सात व्यक्ति गरेर ३३ निकायलाई कारबाही गर्ने भएको छ। पटक-पटक ताकेता गर्दासमेत कर तिर्न बेवास्ता गरेपछि कारबाही गर्ने तयारी गरेको महानगरले जनाएको हो।
कामपाले नेपाल स्काउट, नेपाल रेडक्रम सोसाइटी, जय नेपाल हललगायत संस्थालाई कर तिर्न ताकेता गर्दा पनि कर तिर्न नआएको कारण कारबाही प्रक्रिया अघि बढाउन लागिएको कामपा राजश्व विभागका निर्देशक ध्रुव काफ्लेले बताए। ती करदाताबाट करिब २५ करोड रुपियाँ राजश्व संकलन हुन बाँकी छ।
विभागले वडा कार्यालयले तयार गरेको तथ्याङ्कको आधारमा कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको हो। संविधानको अनुसूची ८ ले सम्पत्ति कर, घरवहाल कर, जग्गा रजिस्ट्रेसन र सवारी रजिस्ट्रेसन जस्ता कर संकलन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ। सोही अधिकारको प्रयोग गर्दै कामपाले ३३ निकायलाई सम्पत्ति कर बुझाउन आग्रह गरेको हो।
वडा कार्यालयहरूबाट प्राप्त तथ्याङ्कअनुसार ल्यान्डमार्क होटल, ओम सान इन्टरनेसनल कलेज, वल्र्ड ट्रेड सेन्टर, सिभिल मल सुन्धारा, सीटीसी मल सुन्धारा, एनआरटी क्लब, नेपाल ट्रस्टको स्वामित्वमा रहेको बुद्धवारी कम्प्लेक्स र काठमाडौं इन्जिनियरिङ कलेज छन्। यी सबै करदाताले सम्पत्ति कर तिर्न बाँकी छ।
विभागीय प्रमुख काफ्लेले कर नतिर्नेमाथि कामपाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने बताए।
कर नतिर्ने निकायको सूचीमा ब्लुबर्ड इन्भेस्टमेन्ट, होटल प्लाटिनीयम, सिद्धार्थ बनस्थली स्कुल, जेपी स्कुल, नेम इन्टिच्युट फर मेडिकल एजुकेसन प्रालि, स्टार होल्डिङ, रिद्धिसिद्धी डेभलपर्स, वरुण वेवरेज, नेपाल सेन्टर फर डेभलपमेन्ट एन्ड पोलिसि स्टडिज, ब्याट्री कारखाना, राइजिङ स्टार प्रपर्टीज, आदर्शनगर बिजनेस प्रालिलगायत छन्।
त्यसै गरी व्यक्तिगत रूपमा ठूला करदाताको रूपमा रहेका सात जनाले कर तिरेका छैनन ।