काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न स्थानमा भएको आगलागीबाट करिब डेढ करोड रुपैयाँ बढीको क्षति पुगेको बताएको छ।
प्रहरीका अनुसार सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरस्थित अरिहन्त पोली प्याक फ्याक्ट्रीमा रहेको जेनेरेटरको लाइन सर्ट भई आइतबार साँझ आगलागी हुँदा जेनेरेटर पूर्ण रूपमा जलेर करिब ८० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३६ वर्षीय जितबहादुर चौधरीको इलेक्ट्रोनिक पसलमा विद्युत सर्ट भई गए राती आगलागी हुँदा पसलमा राखेको से३प९२४७ नम्बरको मोटरसाइकल र सोही ठाउँ बस्ने नवराज चौलागाईंको मोबाइल ग्यालरीसमेत जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का कृष्ण केसीको केसी इलेक्ट्रोनिक सेन्टरमा विद्युत् सर्ट भई आइतबार राती आगलागी हुँदा नगद १५ हजार, मोबाइल, इलेक्ट्रोनिक जगलगायत सामान गरी करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
प्रहरीका अनुसार तेह्रथुमको आठराई गाउँपालिका–५ होडास्थित भुल्के सुपाडे सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने टेकबहादुर राई समेत तीन जनाको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
यसैगरी तेह्रथुमको छथर गाउँपालिका–५ स्थित थरतप्पा सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने उपेन्द्र बस्नेतको घर, काठपात, अन्नबाली र छत्रबहादुर कार्कीको घर तथा गोठमा समेत आइतबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
पाँचथरको कुम्मायक गाउँपालिका–५ लोरीपास्थित सामुदायिक जंगलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने अमृत थापाको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
प्रहरीका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेल लाखाजु टोलमा पार्किङ गरी राखेको सोही ठाउँ बस्ने गोपी थापाको बा१३च२५ नम्बरको गाडीमा आइतबार राती आगलागी हुँदा गाडीको सिट र इन्जिन जलेर करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिंग्र्राङ खानीस्थित सडकमा धादिङबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७७३६ नम्बरको खाली ट्रकमा वायरिङ सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ।
स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।