काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीप्रति जनआक्रोश बढ्नुको मूल कारण जिम्मा लिएका काम समयमै नगरिनु रहेको बताएका छन्। निर्माण व्यवसायीले सरकारसँग ठेक्कापट्टा सकारेपछि तोकिएकै समय, तोकिएकै गुणस्तर र मापदण्डमा काम पूरा गर्नुपर्नेमा उनले जोड दिए।
आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभा अवसरमा प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीप्रतिको आशंका हटाउने गरी काम गर्न आग्रह गरेका हुन्। उनले अर्थतन्त्रका सूचकमा सुधार ल्याउनेतर्फ सरकारले ध्यान दिइरहेको बताए।
देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेकाले संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको प्रधानमन्त्री प्रचण्डको दाबी छ। उनले अनावश्यक चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीव्रता दिने विषय सरकारको प्राथमिकता रहेको उल्लेख गरे।
भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीका बाँकी रहेका भुक्तानी समयमै भुक्तान गर्नेतर्फ पनि सरकारले पहल गरिरहेको उनले बताए। प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर घटाउन पनि सरोकारवाला निकायसँग छलफल गरी आवश्यक निर्देशन दिइसकिएको जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले नेपालमा सबैभन्दा बढी संशोधन हुने भनेकै सार्वजनिक खरिदसम्बन्धी कानुन रहेकाले यसमा निर्माण व्यवसायीको सहभागिता र हित सुनिश्चित गरिएको धारणा राखे। अहिले देशको अर्थतन्त्र सजिलो अवस्थामा नभए पनि आत्तिइहाल्नुपर्ने परिस्थिति नरहेको उनले बताए।
कोभिड महामारी, बाह्य युद्ध र आपूर्ति व्यवस्थामा परेको चापजस्ता कारण केही निर्माण सामग्रीको मूल्य बढेकाले निर्माण क्षेत्रको लागतसमेत बढ्न गएको उनले सुनाए। सिमेन्टलगायतका स्वदेशी निर्माण सामग्रीको खपत घटेकाले निर्माण व्यवसायीले जिम्मा लिएको विकास निर्माणका काम निरन्तर अगाडि बढाउन सके मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुग्ने उनले औंल्याए।
उनले बेलाबेलामा ठेकेदार हराएको सूचना भन्दै सामाजिक सञ्जालमा निर्माण व्यवसायीप्रतिको आक्रोश ‘ट्रोल’ हुने गरेकाले यसले निर्माण क्षेत्रको वास्तविक चित्र प्रस्तुत गर्ने बताए।
निर्माण व्यवसायी अत्यधिक नाफामा मात्र केन्द्रित भए, सम्झौताअनुसारको जिम्मेवारी र राष्ट्र निर्माणको कार्यभारका सारथि भएनन् भन्ने जनगुनासोलाई सम्बोधन गरे मात्रै विश्वास आर्जन हुन सक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
२०४७ मा स्थापित भई २०५४ मा छाता संगठनको रूपमा स्थापित महासंघ नेपालका निर्माण व्यवसायीको अग्रणी संस्था हो। देशभर करिब १७ हजार निर्माण व्यवसायी आबद्ध महासंघले ७ वटै प्रदेश, ७७ वटै जिल्लामा संघ, एसोसिएट र वस्तुगत संघसमेत गठन गरिसकेको छ।