काठमाडौ– उत्तरी छिमेकी चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि समावेश गरेको छ।
चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूचीमध्ये नेपालको नाम समावेश भएको हो।
१ फागुनदेखि पर्यटकका रूपमा जान पाइने सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटक एकल र समूहगत रूपमा नेपाल घुम्न आउन सक्नेछन्। नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीनका विभिन्न सहरबाट सीधा उडान खोल्ने र चीनले नेपाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा अगाडि सार्ने बताइसकेका छन्।
पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने, ‘भारतपछि धेरै नेपाल आउने पर्यटकमा चिनियाँ पर्यटक हुन्। पछिल्लो समय भारतीय पर्यटकको संख्या सन्तोषजनक रूपमा बढ्दै जाँदा चीनले समेत प्रतिबन्ध खुला गरेपछि अब नेपाली पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरेका छौं।’
चीनले कोरोना महामारी नियन्त्रणका लागि सन् २०२० को जनवरी अन्त्यदेखि लागू हुने गरी आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाउँदै आएको थियो। पर्यटकीय सूची सार्वजनिक गर्नुअघि नै नेपाल र चीनबीचको हवाई सेवा भने आंशिक रूपमा खुला गरिएको छ। सन् २०२३ को जनवरीमा १ हजार ४३६ र फेब्रुअरीमा २ हजार २३२ चिनियाँ पर्यटक नेपाल घुम्न आएको बोर्डको तथ्यांक छ।