काठमाडौं- माल्टाका समेत राजदूत रहेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गणतन्त्र माल्टाका राष्ट्रपति डा. जर्ज भेल्लासमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन्।
राष्ट्रपतिको दरबार भ्यालेटामा बिहीबार आयोजित एक समारोहमा राजदूत आचार्यले नेपालको पछिल्लो राजनीतिक, सामाजिक र आर्थिक विकास तथा वर्तमान सरकारको विकासका प्राथमिकताबारे जानकारी दिए।
ओहदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति भेल्लाले आचार्यलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए। साथै, राष्ट्रपति भेल्लाले आचार्यको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।
उक्त अवसरमा पर्यटन, शिक्षा, रोजगारका अवसर तथा माल्टास्थित नेपाली समुदायमार्फत आपसी सम्बन्ध अझ विस्तार गर्न दुवै सहमत भएका छन्। कार्यक्रममा राजदूत आचार्य पत्नी सुनिता आचार्य र दूतावासकी तृतीय सचिव पूजन पाण्डे पनि सहभागी थिए।