काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ। अन्तिम चरणका काम भइरहेको आयोजना निर्माण आगामी असारभित्र सक्ने लक्ष्य राखिएको छ।
आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना (हेडवक्र्स) निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ। ७.२ किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कंक्रिट लाइनिङको काम भइरहेको छ।
विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्बाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ। विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर २२० केभी प्रसारण लाइनका टावर निर्माण सम्पन्न भए पनि तार तान्न बाँकी छ।
२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको महाभूकम्प, २०७२ असोजदेखि करिब साढे ५ महिना नेपाल–भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढीपहिरो र कोभिड महामारीको चपेटामा आयोजना परेको थियो।
प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्य सम्पादनका कारण आयोजना निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो। तर करिब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनक रुपमा काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पुर्याएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
कार्यकारी निर्देशक घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजनाको प्रवद्र्धक मध्य भोटेकोसी जलविद्युत कम्पनीका अध्यक्ष सुभासकुमार मिश्र, प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल सिवाकोटीसहितको टोलीले निर्माणस्थल निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ।
टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदातासँग छलफल गरी ४ महिनाभित्र सम्पन्न गर्ने गरी बाँकी रहेका कामलाई तीव्रता दिन निर्देशन दिएको छ। कार्यकारी निर्देशक घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर करिब करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक देखिएको बताए।
कम्पनीका सिईओ सिवाकोटीले ठेकेदार कम्पनीको कार्य सम्पादनमा सुधार आएकाले आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखी सोहीबमोजिम एकीकृत तालिका बनाएर काम भइरहेको जानकारी दिए। ठेकेदार कम्पनीका प्रतिनिधिले कुनै समस्या नआए तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने काम गरिरहेको बताए।
आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो। इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्र«ोले गरिरहेको छ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो। आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ। निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ।
कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनीको ३७, सिन्धुपाल्चोक हाइड्रोपावरको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेस्टमेन्ट कम्पनी प्रालिको १ र सिन्धु भोटेकोसी हाइड्रोपावरको १ प्रतिशत सेयर रहेको छ।
४९ प्रतिशत साधारण सेयरधनी समूहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) रहेका छन्। कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ। कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार छन्।
आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ। प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० मा खरिद गर्नेछ। यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ।