काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सकिएको छ। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो।
सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठीलगायतले बहस गरे।
जनयुद्धमा मरेका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जीवी गिरीले छुट्टाछुट्टै रिट दायर गरेका थिए।
निवेदनमा प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरेर ज्यान मुद्दाको कसुरमा कारबाही मागिएको छ। प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ सकिएसँगै सर्वोच्चबाट आदेश आउँदै छ।
सर्वोच्च प्रशासनले दरपीठ गरेको उक्त रिट दर्ता गर्न पनि न्यायाधीश खतिवडा सम्मिलित संयुक्त इजलासले आदेश दिएको थियो।