सोमबार, असार ९, २०८२

सन्दर्भ : महिला दिवस

सडक महिलाकी साझा आमा कल्पना

हाल दृष्टि फाउन्डेसनमा हाल १२ जना बालबालिका र ४० जना महिला र आठ जना स्वयंसेवक आश्रित छन्। यी बालबालिका आमासँगै उद्धार गरिएका हुन्।  यिनको हेरचाह र पालनपोषणको व्यवस्थापनमै कल्पनाको दिन बित्ने गरेको छ।
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं- मनलाई धनको तराजुमा कहाँ जोख्न सकिन्छ र? मन त मन हो। पवित्र मनले चिताए धनबिनै पनि पुण्य कर्म गर्न सकिन्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै लेखेका होइनन्, 'हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले'। मन आनन्दित भएन भने जतिसुकै धनको पनि कुनै अर्थ हुँदैन। 
धनगढीकी कल्पनासँग धन छैन तर मनकारी मन छ। बुबाले १४ वर्षको उमेरमै छोडे। घरकी जेठी छोरी भएकाले जिम्मेवारी कल्पनको काँधमा आयो। दु:खसुख गरेर काम गर्दै जीविकोपार्जन गर्दै आएकी थिइन्। सिमलको भुवाजस्ती सेताम्य बुढी आमाको चाउरिएको अनुहारमा एक सर्को हाँसो देख्ने मन कल्पनामा पनि थियो। आमा चाहन्थिन् अब छोरीले बिहे गरिदेओस्। तर, कल्पनालाई बिहेको रहर भएन। समाजको चिन्तामात्रै भइरह्यो। सडकमा बेसहारा बनेर बरबराउने महिला दिदीबहिनीको बरबराहटले उनलाई छोयो।

र, उनको मनमा प्रश्न खेल्न थाले, के प्रसव वेदना सहेरमात्र यो दुनियाँमा आमा बन्न सकिन्छ? होइन, त्योमात्रै सृष्टिको सिर्जना होइन। त्यसपछि उनले दृढ संकल्प गरिन्, अब म बेसहारा दिदीबैनीकी आमा बन्छु।

कुरा पाँच वर्ष पहिलेको हो। धनगढीका सडकमा एक मानसिक रोगी गर्भवती भइन्। उनी बेवारिसे डुल्न थालिन्। शरीरमा झुत्रे लुगा, छोटो कपाल। बरबराउँदै रुने र हाँस्ने बानी। खुला आकास घरको छानो। अध्ययन र कामका लागि काठमाडौं रहेकी कल्पना तिहार मनाउन धनगढी पुगेकी थिइन्। ती महिलाको त्यस्तो अवस्था देखेपछि कल्पनालाई पोल्यो। मन पिरोलियो।

धनगढीमा यस्ता महिलाको संरक्षण गर्ने कुनै संस्था छ कि? उनले मनमनै सोचिन्। तर, कुनै संस्था दिमागमा आएन। त्यसपछि पाँच वर्ष पहिले साउन महिनामा धनगढीमा जन्मियो दृष्टि फाउण्डेशन। बिहे गर्ने उमेर ढल्किँदै गरेकी कल्पनाको परिवारलाई छोरीको चिन्ता थियो। तर, कल्पनालाई सडकका बेसहारा महिलाको।

325964110_1549072058938821_8433875934972281428_n1678281867.jpg

ती सडक महिलामा दृष्टिको दृष्टि त पर्‍यो। अब उनीहरूलाई कहाँ लगेर पाल्ने। कल्पनाले क्याम्पस रोडमा एक घर बहालमा लिइन्। त्यही उनले बेसहाराहरूको रेखदेख गर्न थालिन्। जिउँदो छँदा भोक मेट्ने पनि उनै, मरेपछि काजक्रिया गर्ने पनि उनै। सुरुमा समाजका धेरैले कल्पनालाई पागल भने। छोएन समाजको त्यो कुराले उनलाई। मुठ्ठी दानको भरमा कल्पना बेसहारा सडक महिलाको सहारा बन्न थालिन्।

११ जना महिलाको टिम बनाइन्। सुरुमा ११ जनाले जनही १० हजार रुपैयाँका दरले पैसा जम्मा गरेर काम सुरु गरे। संस्था दर्ता भएको पहिलो एक महिनामै सडकबाट आठ जना महिलाको उद्धार भयो। समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको पढाइ पूरा गरेकी कल्पनाले गैरसरकारी संस्थामा ११ वर्ष जागिर पनि गरिन्।  उनको सपना पनि सरकारी अधिकृत बन्ने थियो। तर, समयको ज्वारभाटाले उनलाई अलग्गै किनारामा उभ्याइदियो।

हातःदृष्टि फाउन्डेसनमा हाल १२ जना बालबालिका र ४० जना महिला र आठ जना स्वयंसेवक आश्रित छन्। यी बालबालिका आमासँगै उद्धार गरिएका हुन्।  यिनको हेरचाह र पालनपोषणको व्यवस्थापनमै कल्पनाको दिन बित्ने गरेको छ।

संस्थाले बेसहाराका परिवार खोजेर पुनर्मिलन पनि गराउने गरेको छ। पाँच वर्षमा १२२ जनालाई तिनका परिवारमा पुनर्मिलन गराएको कल्पनाले बताइन्। उनका अनुसार संस्थाले सडकबाट उद्धार, उपचार र परामर्शपछि परिवारमा पुनर्मिलन गराउने गरेको छ। पुनर्मिलन गराइएकामा धेरै जसो मानसिक सन्तुलन गुमाएर उपचार भएकाहरू छन्। उनले ती मध्ये दुई जनाले फाउन्डेशनमै बसेर एसईई गरिसकेको र एक जना एसईईको तयारीमा रहेको बताइन्।

सडकबाट उद्धार गरेका १६ जना महिलाको निधन भइसकेको छ। ती निधन भएका महिलाहरूको अन्तिम संस्कार पनि कल्पनाले नै गर्दै आएकी छन्। टाउकोमा सेतो कफन बाँधेर उनी मोहनाघाट पुग्छिन्। हिन्दु संस्कार अनुसार १२ दिनसम्म क्रियाकर्म गर्छिन्। दागबत्ति दिने पनि उनै, क्रिया संस्कार गर्ने पनि उनै। '१६ जनाले दृष्टिमा ज्यान गुमाइसक्नु भएको छ। उहाँहरूका परिवार कोही पनि सम्पर्कमा आउनु भएन। अहिलेसम्म पनि कोही सम्पर्कमा आउनु भएको छैन। त्यसैले दृष्टिमा ज्यान गुमाएकाहरूको दाहसंस्कार पनि मैले नै गर्ने गरेकी हुँ,' उनले नेपाल समयसँग भनिन्।

kalpana6545671678281954.jpg

परिवारसँग पुनर्मिलन गराएका मध्ये केही त अहिले उद्यमशीलतामा पनि सक्रिय रहेको उनी बताउँछिन्। दाङ घर भएकी गौधुली ठेलामा मकै विक्री गर्ने काम गर्छिन्। यस्ता थुप्रै महिला अहिले उद्यमशीलतामा छन्। 
हाल दृष्टि फान्डेसनको आफ्नै भवन बनेको छ। कल्पनाका अनुसार धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेशसभाका तत्कालीन सदस्य डिल्लीराज पन्तको सहयोगमा भवन बनेको हो। संस्थामा आश्रितहरूको हेरचाहका लागि छ जना स्वयंसेवक छन्। ती सबै कलेज पढ्ने छात्रा हुन्। स्वयंसेवकले खानेबस्ने सुविधा र पढाइ खर्च पाउँछन्। अहिले सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पनि वार्षिक चार लाख सहयोग गरेको र बाँकी मुठ्ठी दानकै भरमा उनीहरूको रेखदेख गरिरहेको कल्पनाको भनाइ छ।

त्यहाँ रहेका बालबालिकालाई पनि कल्पनाले विभिन्न विद्यालयमा भर्ना गरेकी छन्। उनीहरूलाई राम्रो शिक्षादिक्षा दिनु आफ्नो प्रमुख दायित्व भएको उनी ठान्छन्। आफ्नै भवन बनिसकेकाले आगामी दिनमा दाताहरू थपिए आफूलाई थप सहज हुने उनको बुझाइ छ।

प्रकाशित: Mar 08, 2023| 18:53 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्