सोमबार, असार ९, २०८२

दश वर्षपछि सहिद स्मारकको रोकिएको काम सुरु

 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं- गोकर्णेश्वर नगरपालिका–४ स्थित जगडोल सामुदायिक वनमा निर्माणाधीन राष्ट्रिय सहिद स्मारकमा काम रोकिएको १० वर्षपछि फेरि सुरु भएको छ। सरकारको २०६४ जेठ ११ गतेको निर्णयअनुसार तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत् २०६८ सालदेखि निर्माण थालिएकामा काम सुरु भएको दुई वर्षपछि रोकिएको थियो।

मन्त्रिपरिषद्को निर्णयअनुसार स्मारक निर्माण पुनः अगाडि बढाइएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। आयोजना प्रमुख एवं विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर गणेश कर्माचार्यले स्मारकका पाँच ठेक्कामध्ये तीन वटाको काम सकिएको बताए। सार्वजनिक खरिद नियमावलीको पछिल्लो संशोधनले बाँकी दुई ठेक्काको म्याद आगामी असार मसान्तसम्म थपिएको उनले जानकारी दिए।

विसं २०७२ मा स्मारक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि आठ वर्ष वितिसक्दासमेत सम्पन्न हुन सकेको छैन। सामुदायिक वनको छ सय ५० रोपनी जग्गामा सहिद, निजामती र घुन्सा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वन एवं संरक्षण क्षेत्रका व्यक्तित्वको स्मृतिमा स्मारक बनाउने घोषणा गरिए पनि काम अलपत्र बनेको थियो।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले चक्रेश्वरी÷जीवन जेभीले काम सुरु गरेपनि विभागले म्याद थपको सम्झौता नगरेको गुनासो आउने गरेको बताए। आयोजनाको हालसम्म ७० प्रतिशत काम सकिएको जनाइएको छ। रू साढे तीन करोड लागतको ठेक्कामा काम भइरहेको आयोजनाले जनाएको छ।

प्रकाशित: Mar 08, 2023| 22:31 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्