सोमबार, असार ९, २०८२

मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएका पाइपबाट चुहावट

निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र १ हजार १० किमी पाइप बिच्छ्याएको थियो।
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं- मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ। पछिल्लो १ दशकयता बिच्छ्याइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।

निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र १ हजार १० किमी पाइप बिच्छ्याएको थियो। नयाँ पाइपमा पनि अरु निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयको सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए।

उनका अनुसार ढल तथा सडक बनाउँदा, विद्युत् अन्डरग्राउण्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट पाइएको उनले बताए। ‘पुरानो पाइपमा त चुहावट हुने नै भयो नयाँ पाइपमा पनि चुहावटको समस्या भइरहेको छ,’ उनले भने।

निर्देशनालयले यसअघि बिच्छ्याइएको पाइपको परीक्षण गरिरहेको छ। नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट पाइएको र ती ठाउँमा मर्मत गरेर पुनः परीक्षण गरिने उनको भनाइ छ। ‘अन्तिम परीक्षणमा पनि समस्या नभएको पाइए मात्रै नयाँ पाइपबाट पानी पठाउन सकिनेछ,’ उनले भने।

नयाँ पाइप परीक्षणको क्रममा हुँदा हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पुरानो संरचनाबाट नै पानी वितरण गरिरहेको छ। उपत्यकामा झण्डै १०० वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या भइरहेको कार्यालयको भनाइ छ। 

पहिलो कम परिमाणमा पानी वितरण हुने गरेको तर मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पाइपमा समस्या भएको हो। नयाँ पाइप परीक्षणका क्रममा भएकाले अहिले पुरानो पाइपबाटै पानी वितरण भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। खासगरी ललितपुरको लगनखेल र आसपासका क्षेत्र, काठमाडौंमा पुरानो बस्ती क्षेत्रमा चुहावटको समस्या बढी छ।

सरकारले गत महिनाबाट उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण शुरू गरेको थियो। मेलम्चीको पानीको वितरण २ वर्ष पहिले नै सुरू भए पनि बाढीका कारण धेरै संरचनामा क्षति पुगेकाले बर्सेनि हिउँद महिनामा मात्रै पानी वितरण भइरहेको छ। 

प्रकाशित: Mar 08, 2023| 19:30 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्