काठमाडौं- काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज मुलुकभर बादल लागिरहे पनि केही स्थानमा मात्र छिटपुट वर्षा हुनेछ।
विशेष गरेर गण्डकी, लुम्बिनी, बागमतीप्रदेश लगायत पश्चिमका प्रदेशका पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थानमा हिमपात र केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको छ।
पाल्पा र पोखरालगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको महाशाखाको भनाइ छ। यतिबेला काठमाडौंमा धुम्म बादल लागिरहेको छ। हल्का वर्षाको सम्भावना रहेको छ। तर दिनभर जसो पानी पर्ने सम्भावना छैन। कतै कतै छिटपुट वर्षा हुने महाशाखाले जनाएको हो।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू-भाग चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।