काठमाडौं– धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संस्थामध्ये ८७ वटा मात्रै योग्य देखिएका छन्। नेप्सेले मार्जिन कारोबारका लागि हाल सूचीकृत कम्पनीमध्ये ८७ वटा मात्रै योग्य रहेको जनाएको हो।
नेप्सेका अनुसार १७ वटा वाणिज्य बैंक, आठ वटा विकास बैंक, चार वटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, चार वटा जीवन बिमा कम्पनी, पाँच वटा निर्जीवन बिमा कम्पनी र ३० वटा लघुवित्त कम्पनी मार्जिन कारोबारका लागि योग्य देखिएका छन्।
त्यस्तै, तारागाउँ होटल रिजेन्सी, नेपाल पुनर्बिमा कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी र शिवम् सिमेन्ट पनि मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूचीमा रहेका छन्।
सामान्य अर्थमा पुँजी बजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको सेयर खरिद गर्न पाउने व्यवस्था मार्जिन कारोबार हो। यसका लागि धितोपत्र दलालले सुविधा उपलब्ध गराउँछन्।
मार्जिन कारोबारलाई व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४’ जारी गरेको छ। सोही निर्देशनानुसार मार्जिन कारोबारका लागि तोकिएका योग्य कम्पनीको सेयर कारोबार गर्ने लगानीकर्ताले मात्रै यस्तो सुविधा पाउँछन्।
पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको कम्पनीमा मात्रै मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सकिनेलगायत व्यवस्था निर्देशनले तोकेको छ।